कर्णालीमा लगानी गर्न निजि  क्षेत्रलाई मुख्यमन्त्री शाहीको आग्रह

मान्‍म । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको विकास र परिवर्तनका लागि निजी क्षेत्रको लगानी गर्न आग्रह गरेका छन् । कालीकोटमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कर्णालीको विकासका लागि निजी क्षेत्रको लगानी भित्र्याउन आवश्यक रहेको बताएका हुन् । निजी क्षेत्रलाई आकर्षित गर्नेतर्फ प्रदेश सरकार कटिबद्ध रहेको र त्यसका लागि निजी क्षेत्रले ढुक्क भएर लगानी गर्न आग्रह गरे ।

‘कर्णालीमा लगानी गर्ने क्षेत्र धेरै छ, यो लगानीका लागि भर्जिन क्षेत्र हो,’ उनले भने, ‘त्यसका लागि स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारले आ–आफ्नो ठाउँबाट पहल चाल्नुपर्दछ ।’ कालीकोट पर्यटकीय क्षेत्रका हिसाबले नेपालको सबैभन्दा अग्लो पचाल झरनाको बेस क्याम्पमा निर्माण गरिएको घरबास, शान्नी त्रिवेणी गाउँपालिका र नरहरिनाथ गाउँपालिकामा अवस्थित सुथराली विमानस्थल, गौरवको आयोजनाका रुपमा हेरिएको उनले बताए ।

उनले कोटवाडा मान्म केबलकारको सम्भाव्यताको अध्ययन गरिएको र त्यसका लागि निजी क्षेत्रले लगानीबाट वातावरण बनाइने प्रतिबद्धता जनाए । कर्णालीमा जलविद्युत्को उत्तिकै सम्भवना रहेकाले अहिले ४१० मेगावाटको फुकोट कर्णाली अर्धजलासययुक्त आयोजना बन्न लागेको र त्यसको काम धेरै अगाडि बढेको उनको भनाइ छ ।

‘फुकोटको लगानीको मोडेल एक प्रकारले सहमति भइरहेको छ, निर्माणको काम पनि अगाडि बढेको छ,’ उनले  भने, ‘स्थानीयवासीलाई शेयर दिने विषयमा पनि छलफल भइरहेको छ, यो आयोजनाले रोजगारीसमेत दिनेछ ।’ रासस