पाँच दिनदेखि विद्युत् सेवा अवरुद्ध

हुम्ला । हुम्लाको सिमकोट र खार्पुनाथ गाउँपालिका विद्युत् सेवा अवरुद्ध हुँदा पाँच दिनदेखि यहाँका नागरिक अन्धकारमा बस्दै आएका छन् । बुधबार रातिदेखि हेल्दुङ वितरण केन्द्रले मर्मतका लागि बन्द गर्दा यहाँका सेवाग्राहीले पुरानै सल्लाको दियालोका भरमा रात कटाउनुपरेको छ ।

 

हिल्दु साना जलविद्युत् आयोजनाद्वारा विद्युत् आपूर्ति बन्द हुँदा सिमकोटमा सञ्चालित इलेक्ट्रोनिक पसल व्यवसायी र सरकारी तथा गैरसरकारी कार्यालयमा सेवा प्रवाह गर्न समेत थप समस्या बनेको छ । यसबाट मोबाइल चार्जदेखि अन्य विद्युतबाट गरिने कार्य प्रभावित भएका हुन् । सिमकोटमा रहेका एक दर्जन बढी बैंक तथा वित्तीय संस्थालाई दैनिक काममा बाधा पुगेको छ ।

यस्तै नेपाल टेलिकम शाखा हुम्लाले विद्युत् सेवा अवरुद्ध हुँदा जेनेटरबाट टेलिकमका सम्र्पूण सेवा सञ्चालन गरिरहेको छ । विद्युत् नहुँदा राति १० देखि बिहान ६ बजेसम्म टेलिकमका सम्पूर्ण सेवा बन्द हुने गरेका छन् । कार्यालयमा रहेका सोलार सिस्टमले काम नगर्दा जेनेटरको प्रयोग गरेर सेवा प्रवाह गरिरहेको बताइएको छ ।