दशैँ र तिहार नजिकिँदै गर्दा बाढी पीडितलाई बढ्न थाल्यो चिन्ता

सुर्खेत । विगत सात वर्षदेखि अस्थायी टहरामा बस्दै आएका सुर्खेतका बाढी पीडितलाई यसपालिको दशैँ र तिहार कसरी मनाउने भन्ने चिन्ता बढ्न थालेको छ । हिन्दु नेपालीहरूको महान चाड दशैँ र तिहार नजिकिँदै गर्दा बाढी पीडितलाई चिन्ता बढेको हो ।

सात वर्षदेखि सहयोगी दाता र गिट्टी कुटेर जिविका चलाएका बाढी पीडितलाई यसवर्ष सहयोग नआउँदा समस्या उत्पन्न भएको हो ।

गिरिघाट स्थित शिविरमा बस्दै आएका १ सय १५ घरधुरी बाढी पीडित त्रिपालको अस्थायी टहरामा विगत सात वर्ष देखि बस्दै आएका छन् । दैनिक गिट्टी कुटेर छाक टार्दै आएका उनीहरुले तयार पारेको गिट्टी बिक्री नभएपछि दशैँ तिहार कसरी मनाउने भन्ने चिन्ता बढेको हो ।

वि.सं. २०७१ साउन महिनामा आएको बाढी र पहिरोबाट विस्थापितहरु सात वर्षदेखि शिविरमा बस्दै आएका छन् । अन्य रोजगारी नहुँदा गिट्टी बेचेर घर खर्च चलाई रहेका उनीहरु पछिल्लो समय गिट्टी बिक्रि नहुँदा चिन्तित देखिन्छन् ।

कर्णाली प्रदेश सरकारले दशै अगावै प्रतिघरधुरी ३ लाख रुपैयाँ उपलब्ध गर्ने र सम्बन्धित स्थानीय तहले पुनस्र्थापनाको जिम्मा लिने बताएपनि रकम नपाएको विस्थापितहरुको गुनासो छ । सुर्खेतमा १ हजार ४५ विस्थापित घरधुरीमध्ये चार सय बढी घरधुरीका नागरिकहरु सुर्खेत जिल्लाका  विभिन्न शिविरमा बस्दै आएका छन् ।