दैलेखमा ५० शैय्याको अस्पताल निर्माण

दैलेख । १५ शैय्याको दैलेख अस्पताललाइ ५० शैय्याको अस्पताल निर्माण गर्न शिलान्यास गरिएको छ । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले बिहीबार (हिजो) अस्पताल भवन शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रममा मन्त्री बुढाक्षेत्रीले तोकिएको अवधिभित्र निर्माण सम्पन्न गर्न र गुणस्तरिय भवन निर्माण गर्न सम्बन्धित निर्माण कम्पनी र स्वास्थ्य सेवा कार्यालयलाई सुझाव दिए ।

प्रदेश सरकारको ३७ करोड रुपैयाँबाट ५० बेडको जिल्ला अस्पताल बनाउन लागिएको हो । ३५ महिनाभित्र निर्माण सम्पन्न हुने गरेर प्रेरणा–क्याराचान–सुपरफास्ट जेभी काठमाडौंले लिएको छ । मन्त्री बुढाक्षेत्रीले जनशक्तिका साथै स्वास्थ्यका भौतिक पूर्वाधार निर्माणमा पनि प्रदेश सरकार गम्भीर रहेको बताए । उनले चालू आर्थिक वर्षबाटै दैलेखसहित सल्यान, रुकुम पश्चिम, जाजरकोट र डोल्पामा ५० शैय्याको भवन निर्माणको काम सुरु गरिएको बताए । ‘हरेक जिल्लामा ५० शैय्याको अस्पताल बनाउने प्रदेश सरकारले निर्णय गरेको छ,’ उनले भने, ‘त्यसैका लागि चालू आर्थिक वर्षमा पाँच वटा जिल्ला अस्पतालका भवनहरु निर्माण गर्दैछौं ।’

उनले कर्णालीमा प्रदेश सरकार गठन भएपछि स्वास्थ्य क्षेत्रमा निकै परिवर्तन आएको दाबी गरे । कर्णालीका कतिपय जिल्लामा विशेषज्ञ चिकित्सकको अभाव रहेकाले पूर्ति गर्न मन्त्रालयले सहजीकरण गरिरहेको उनको भनाइ छ । उनले कर्णाली प्रदेश सरकारले हरेक वर्ष ५० जना डाक्टर उत्पादन गर्ने लक्ष्य लिएको बताए । स्वास्थ्यका दृष्ट्रिकोणले पछाडी परेको कर्णालीमा बाह्य जिल्लाका विशेषज्ञ चिकित्सकहरु आउन मान्दैनन् । प्रदेश सरकारले कर्णालीकै नागरिकहरुलाई चिकित्सक बनाएर कर्णालीमै सेवा गर्ने वातावरण बनाउने उद्देश्यले डाक्टर पढ्न छात्रवृत्ति दिने निर्णय गरेको छ।

सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले कर्णालीका १० जिल्लाबाट पाँच–पाँच जनाका दरले डाक्टर उत्पादन गर्न बजेट छुट्याइएको बताए ।  प्रदेश सरकारको छात्रवृत्तिबाट पढेका चिकित्सकहरुले कम्तिमा पाँच वर्ष कर्णालीमै बसेर सेवा गर्नुपर्ने छ। प्रदेश सरकारले यसका लागि ‘कर्णालीको जनशक्ति, कर्णालीमै सेवा’ भन्ने नारा तय गरेको छ। संघीय सरकारको छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकहरु कर्णालीमा आउन नमान्ने र आएपनि तोकिएको अवधिसम्म नबस्ने भएकाले प्रदेश सरकारले डाक्टर पढ्न छात्रवृत्तिको व्यवस्था गरेको हो।

जिल्ला स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख थीर प्रसाद रेग्मीले भवन नहुँदा उपचार गर्न कठिन भएको अवस्थामा भवन निर्माण हुने भएपछि खुसी भएको बताए । उनले अझै पनि विशेषज्ञ चिकित्सक अभाव भएकाले पदपूर्ति गर्न माग गरे । प्रमुख जिल्ला अधिकारी हरिबहादुर प्याकुरेल, जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापा, नारायण नगर पालिकाका नगर प्रमुख रत्नबहादुर खड्कालगायतले अस्पतालको पूर्वाधार विकास र जनशक्ति व्यवस्थापनमा ध्यान दिन आग्रह गरे । सङ्घीय सरकारले कुल ३७ करोड रुपियाँको लागतमा अस्पतालको टे न्डर आह्वान गरेपनि प्रेरा क्याराभान सुपर स्टार जेभीले २२ करोड रुपियाँमा निर्माण सम्पन्न गर्ने सम्झौता गरेको छ ।