कर्णाली सरकारले कृषकलाई अन्नबालीकाे क्षतिपूर्ति दिने निर्णय

सुर्खेत । कर्णाली प्रदेश सरकारले कृषकलाई अन्नबालीकाे क्षतिपुर्ती व्यवस्था गर्ने भएकाे छ ।  प्रदेश विपद् व्यवस्थापन परिषदकाे आज बसेकाे बैठकले बेमौसमी वर्षाका कारणले अन्नबालीमा क्षति भएका किसानलाई राहत दिने निर्णय गरेको हाे ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शुक्रबार बसेको प्रदेश विपद व्यवस्थापन परिषदको बैठकले अन्नबालीमा क्षति पुगेका किसानलाई राहत दिने निर्णय गरेको छ ।

अन्नबालीमा भएको क्षतिको एकिन विवरण संकलन र कृषकहरुलाई क्षतिपुर्ति दिने व्यवस्था भएको कर्णाली प्रदेश सरकारका प्रवक्ता सीता नेपालीले बताइन् । विपद व्यवस्थापन परिषद्को बैठकले बाढी पहिरो लगायतको विपदमा परी निधन भएका व्यक्तिका परिवारलाई प्रदेश सरकारले गरेको सामुहिक विपद दुर्घटना वीमाबाट प्राप्त हुने दुइ लाख रुपैयाँ तत्काल उपलब्ध गराउने निर्णय गरेको छ ।

विपदमा परी घाइते भएकाहरुको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने प्रवक्ता नेपालीले जानकारी दिइन् । त्यस्तै, विपदका कारण अवरुद्ध भएका सडक, पुल, खानेपानी, सिंचाई र विद्युत पूर्वाधारको मर्मतसम्भार गरी तत्काल सुचारु गर्ने र पुर्णरुपमा क्षति भएका घरहरूको विवरण संकलन गरी संघीय र स्थानीय सरकारसंग समन्वय गरी पुनःनिर्माण तथा पुनस्र्थापना गर्ने गर्ने प्रवक्ता नेपालीले बताइन् । विपदका कारण क्षतिग्रस्त विद्यालय भवन र स्वास्थ्य चौकीका भवनको लगत संकलन गरी पुनःनिर्माणको व्यवस्था मिलाउने निर्णय भएको उनले जानकारी दिइन् ।