कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता मातृकाप्रसाद खनालले दिए राजिनामा

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता मातृकाप्रसाद खनालले पदबाट राजीनामा दिएका छन् । खनालले व्यक्तिगत कार्य व्यस्तताको कारण पदबाट राजीनामा दिएको जनाएका छन् । असोज ३१ गते खनालले दिएको राजीनामा बुधबार नै प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले स्वीकृत गरेका छन् । 

प्रदेश सरकारको मुख्य कानुनी सल्लाहकारको रूपमा रहने मुख्य न्यायाधिवक्तामा नियुक्त भएका खनालले वर्षदिन नपुग्दै पदबाट राजीनामा दिएका हुन्। गएको चैत ६ गते मुख्य न्यायाधिवक्तामा नियुक्त भएका उनले ६ महिना २५ दिन काम गर्ने मौका पाए ।

यसअघि मुख्य न्यायाधिवक्ता विद्याभूषण मानन्धरले पनि कार्यकाल नसकिँदै पदबाट राजीनामा दिएका थिए ।