केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पूर्णबहादुर खड्का विजय

सुर्खेत । नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्का केन्द्रीय महाधिवेशन प्रतिनिधिमा विजय भएका छन् । सुर्खेतको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका खड्का ७३६ मत प्राप्त गर्दै विजयी भएका हुन् । मंगलबार (हिजाे) भएको निर्वाचनमा ८७४ मत खसेको थियो ।


काँग्रेस विधान अनुसार केन्द्रीय पदाधिकारी र सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था भएपनि महामन्त्री खड्काले कार्यकर्ताबाट अनुमोदित हुनका लागि निर्वाचन प्रक्रियामा सहभागी हुने बताएका थिए ।

यो पटक संस्थापन समूहमा रहेका खड्का पक्षले अग्रस्थान ओगटेको छ । पालिकादेखि प्रदेशसभा निर्वाचन क्षेत्रको चुनावमा पौडेल पक्षलाई निकै कमजोर पार्दै खड्का समूहले आफ्नो वर्चश्व कायम गरेको छ।

क्षेत्र नं.–१ मा भएको क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिमा पनि सबै संस्थापन समूहका उम्मेदवार विजयी भए ।

संस्थापन समूहका झकबहादुर डाँगीले ७१९ मत ल्याएर विजयी हुँदा रामचन्द्र पौडेल समूहका बलबहादुर वलीले १०३ मत मात्रै प्राप्त गरेका थिए ।

यस्तै सचिवमा संस्थापन समूहका मोहन राना, पदमबहादुर खत्री, सहसचिवमा संस्थापन समूहका प्रेमसिंह ठकुरी र यामलाल पंगाली निर्वाचित भएका छन् ।