पत्रकार​ डेकेन्द्रराज थापाका हत्यामा संलग्न तीन जनालाई जन्मकैदको फैसला

दैलेख । पत्रकार​ डेकेन्द्रराज थापाका हत्यामा संलग्न तीन जनालाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले आइतबार दुल्लू नगरपालिका ६ का अरुण भनिने बमबहादुर खड्का, केशव खड्का र भगवतीमाई गाउँपालिका–६ का मुक्ति भनिने बमबहादुर खड्कालाई थापा हत्यामा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो ।

जिल्ला अदालतका श्रेस्तेदार उपसचिव इन्द्रबहादुर कार्कीले थापा हत्याका मुख्य कसुरदार तीन जनालाई २० वर्ष र शव गाड्न सहयोग गर्ने कोहलपुर नगरपालिका–३ निवासी भक्तिराम लामिछानेलाई तीन वर्ष कैद तोकिएको जानकारी दिए । प्रहरीले हत्यामा संलग्न नौमध्ये पाँच जनालाई २०६९ पुस २० गते पक्राउ गरी डेकेन्द्र थापा मुद्दाको अनुसन्धान अघि बढाएको थियो । तीमध्ये अरुण भनिने बमबहादुर खड्का, मुक्ति भनिने बमबहादुर खड्का, केशव खड्का र भक्तिराम लामिछाने फरार थिए । कैलाली प्रहरीले दुई वर्षअघि अरुणलाई पक्राउ गरी दैलेख प्रहरीलाई बुझाएपछि आठ वर्षदेखि मुल्तबीमा रहेको यो मुद्दा किनारा लागेको हो ।