पाठेघर सफा गर्दा मृत्यु भएकी भीमाकाे शव आफन्तले अस्पतालमै छाेडेर फर्किए घर

अस्पतालले दिएन क्षतिपूर्ति, ८ महिने दुधे छोरीकाे बिचल्ली

सुर्खेत । दैलेखको आठबीस नगरपालिका-५, पिपलकोटकी २२ वर्षीया भीमा गुरुङ बलामी उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पुगेकी थिइन् ।

उनी २८ गते बुधबार कर्णाली प्रदेश अस्पतालमा उपचारका लागि पुगेकी हुन् । २९ गते बिहीबार बिहानै भीमा प्रदेश अस्पताल भर्ना भएकी थिइन् ।

पाठेघर सफा गर्दैगर्दा केही समयपछि अस्पतालले उनलाई एक्कासि मृत घोषणा गरेको भीमाका श्रीमान नवराज बलामीले जानकारी दिएका थिए ।

भीमाले स्थानीय क्लिनिकमा उपचार गर्दा पाठेघरमा समस्या देखाएकाे थियाे । उक्त क्लिनिकले भीमालाई प्रदेश अस्पताल रिफर गरेकाे थियाे ।

पाठेघरको उपचार गर्न अस्पताल गएकी भीमाको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले आन्दोलन गर्दै आएका थिए ।

परिवारलाई भेट्नै नदिई एक्कासि रगत अभाव भयो भन्दै रगत मगाउने गरेकाे र केही समयमै मृत घोषणा गरेको आफन्तले बताउएका छन् ।

यसपछि आक्रोशित आफन्तहरूले डाक्टरको लापरबाहीले भीमाको मृत्यू भएको भन्दै आन्दोलन गरिरहेका थिए ।

आफन्तहरूले भीमाकी ८ महिनाकी छोरीको स्वास्थ, शिक्षा, परिवारका सदस्य मध्ये एक जनालाई रोजगारी, पालन पोषणको सबै जिम्मा लिनुपर्ने र घटनाबारे सत्यतथ्य छानबिन गरि दोषीलाई कारबाही गर्नुपर्नेलगायत माग राख्दै आएका थिए ।

तर, बुधबार भीमाकाे शव आफन्तहरुले अस्पतालमै छाडेर घर फर्किएका छन् । भीमाका आफन्तले राखेकाे माग अस्पतालले पूरा नगरेकाे भन्दै आफन्तहरुले भीमको शव प्रदेश अस्पतालको शव गृहमै छाेडेर घर फर्किएका हुन् ।

बुधबार प्रेस विज्ञप्ति निकाल्दै भीमाका बुवा गोविन्दबहादुर गुरुङले शान्तिपूर्ण आन्दोलन, धर्ना र पटक–पटक वार्ता छलफल गर्दा पनि अस्पताल प्रशासनले यस विषयलाई गम्भिरतापूर्वक नलिएकाले शव नबुझेर घर फर्किएको जानकारी दिए ।

यता, प्रदेश अस्पतालका निर्देशक डा: डम्बर खड्काले बिरामीलाई बचाउलाई काेशिस गरेकाे र मृत्यु भइसके पछि आफूहरुसँग यसकाे सराेकार नहुने बताएका छन् ।

हालसम्म सरकारी अस्पतालमा क्षतिपूर्ति दिने नगरेकाे डा: खड्काले जानकारी दिए ।

बिरामीलाई बचाउनका लागि हामीले प्रयास गर्ने हाे डा: खड्काले भने,` यदि बिरामीकाे अन्तिम अवस्था छ, बाचेनन् भने त्याे पुलिस प्रशासन तिर जान्छ । सरकारी अस्पतालहरुमा क्षतिपूर्ति भन्ने हुदैन । तर कारण पत्ता लगाउनका लागि पाेष्टमार्टम गर्नु पछि त्यति शंका लाग्छ भने । अहिलेसम्म उहाँहरूले पाेष्टमार्टम गर्नु भएको छैन् । पाेष्टमार्टम गरे पाे पत्ता लाग्दा त यतिकै राखेर कसरी समस्याकाे समाधान हाेला ? हामीले त्यस्तो केही गल्ति देखेका छैनौं ।´

एम्बाेलिजिम भएको बिरामीलाई बचाउन गार्‍हो हुने डा. खड्काले जानकारी दिए । सालकाे टुक्रा मुटुमा गएपछि बाच्न असम्भव नै हुने बताए । यस्तै भीमालाई पनि भएको डा. खड्काकाे भनाइ छ ।

भीमालाई सालकाे टिउमर भएको जानकारी दिए । उक्त टिउमर उछिटिएर कतिपयकाे मुटुमा गयाे भने बिरामीकाे मृत्यु हुन्छ डा.खड्कनले भने,` मुटुमा गएर फाेक्साेमा पठाउँछ, फाेक्साेमा बल्क भइदियाे भने अक्सिजन सप्लाई नै बन्द हुन्छ ।`

भीमाकाे चार महिनाकाे गर्भ रहेकाे र ८ हप्तादेखि सालकाे टिउमर बढेकाे डा.खड्काले जानकारी दिए ।

याे पनि 

पाठेघर सफा गर्दा २२ वर्षीया युवतीको मृत्यु, ८ महिने छाेरीकाे बिचल्ली (भिडिओ)