बसपार्क क्षेत्रमा फोहोर नगर्ने र गर्न दिने व्यवसायीको प्रतिवद्धता

सुर्खेत । वीरेन्द्रनगर बसपार्क क्षेत्रमा व्यवसायीले बसपार्क क्षेत्रमा फोहोर नगर्ने र गर्न नदिने व्यवसायीले प्रतिवद्धता व्यक्त गरेका छन् । वीरेन्द्रनगर नगरपालिकाको फोहोर व्यवस्थापन सम्बन्धी कार्यविधि अनुरुप नीति नियम पालना गर्ने र आफ्नो मातहतका व्यवसायीलाई पालना गर्न लगाउने प्रतिवद्धता व्यक्ति गरेका हुन् ।वीरेन्द्रनगर नगरपालिका वडा नं ६ को वडा कार्यालय र अन्तरनिर्भर समाज सुर्खेतले आयोजना गरेको कार्यक्रमकाबिच बस तथा अटो ब्यवासायीहरु, विभिन्न अन्य व्यवसायी संघ, बसपार्क ब्यवस्थापन समितिले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता पत्रमा प्रत्येक पसलका अगाडी डस्टवीन राख्न लगाउने, आफ्नो पसलबाट निस्केको फोहोरलाई कुहिने र नकुहिने फोहोरमा छुट्याई फोहोर व्यवस्थापनमा सहयोग पुर्याउने उल्लेख छ । यातायात ब्यवसायीले संचालनमा आएका गाडि भित्र यात्रुले गरेको फोहोर व्यवस्थापनका लागि विन राख्ने र यात्रुहरुलाई फोहोर व्यवस्थापन सम्बन्धी सुचना प्रवाह गर्नुपर्ने उल्लेख छ ।

कार्यक्रममा वडा अध्यक्ष मोति प्रसाद कंडेलले फोहोर व्यवस्थापन सबैको जिम्मेवार रहेको बताए । बसपार्क क्षेत्रमा निगरानी गर्ने र पहिले एकदुई दिन सम्झाई बुझाई गर्ने र त्यस पछि कार्वाही गर्ने बताए । उनले नागरिकहरुलाई पनि सरसफाई जिम्मेवार रहेको भन्दै जथाभावि फोहोर नगर्न र आफुले गरेको फोहोर आफैले सफा गर्न पनि अनुरोध गरे ।

‘सरसफाई व्यवस्थापन नगरपालिका, संघसंस्थाको मात्र होइन । प्रत्येक नागरिक जिम्मेवार हुनुपर्छ ’ उनले भने, ‘जथाभावि फोहोर नगर्न सबैलाई आग्रह गर्छु ।’ अन्तरनिर्भर समाज सुर्खेतका कार्यक्रम व्यवस्थापक विवेक शाहीले सरसफाईमा सबै जिम्मेवार हुनुपर्ने बताए । उनले सरसफाई स्वंयसेवक तथा अभियान्ताहरु पनि खटिने बताए ।

हरित पुर्नउत्थान प्रवद्र्धन परियोजनामार्फत सरसफाई सम्बन्धी विभिन्न सचेतनामुलक तथा अन्य कार्यक्रमहरु संचालन गरिएको उनको भनाई छ । उनले जनचेतना जगाउने र त्यस पछि जरिवाना गर्ने बताए ।

बसपार्क क्षेत्रमा वीरेन्द्रनगर नगरपालिका वडा नं ६ को वडा कार्यालय, अन्तरनिर्भर समाज सुर्खेत, बस व्यवसायी, बसपार्क व्यवसायी, अन्य संघसंस्थाको उपस्थितमा सरसफाई गरिएको छ ।