चालकलाई मापसे विरुद्धको सचेतनामूलक कक्षा सञ्चालन

सुर्खेत । जिल्ला ट्राफिक कार्यालय सुर्खेत प्रहरीले सवारी दुर्घटनाको प्रमुख कारण मापसे मादक पदार्थ सेवन भएको निष्कर्ष निकालेको छ । सवारी चालकहरूले मापसे गरेर सवारी साधन चलाउनाले धेरैजसो सवारी दुर्घटनाका घटनाहरु हुने गरेको हो ।


प्रहरीले मापसेका कारण दुर्घटना बढेको भन्दै मापसे विरुद्धको अभियान समेत सञ्चालन गरेको छ। जिल्ला ट्राफिक कार्यालयका प्रमुख उपेन्द्र आचार्यले बिहीबारदेखि मापसे विरुद्धको सचेतनामूलक कक्षा सञ्चालन गरिएको जानकारी दिए ।

मापसे प्रयोग गरेर कारबाहीमा परेका ३० जना चालकहरुलाई जरिवाना सहित प्रशिक्षण सुरु गरेको छ । प्रहरीका अनुसार विगत तीन आर्थिक बर्षमा मादक पदार्थ सेवन गरेर सवारी सञ्चालन गर्ने एक हजार पाँच सय ५८ जनालाई जरिवाना गरिएको छ । यस्तै चालु आर्थिक बर्षको हालसम्मको अवधिमा २ सय पाँच जनालाई कारबाही गरिएको छ ।

सुर्खेतमा वितेका तिन बर्षमा १ सय २३ वटा सवारी साधनहरु दुर्घटनामा परेका छन् । उक्त, सवारी दुर्घटनामा परी ९१ जनाको मृत्यु भएको छ । चालु आर्थिक बर्षको हालसम्मको अवधिमा १४ वटा सवारी दुर्घटनामा परी १३ जनाको मृत्यु भइसकेको ट्राफिक प्रमुख आचार्यले बताए ।