हुम्ला । हिमाली जिल्ला हुम्लाका ९० प्रतिशत बालबालिकाले मोडर्ना खोप लगाएका छन् । स्वास्थ्य कार्यालयको सहकार्यमा सातवटै स्थानीय तहले विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई उक्त खोप लगाउने काम सम्पन्न गरेको हुन् ।
विद्यालयमा अध्ययरत १२ देखि १७ वर्ष उमेरसम्मका ९०.६१ प्रतिशत बालबालिकाले कोभिड–१९ विरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालयका कोल्डचेन असिस्टेन्ट मानबहादुर रोकायाले जानकारी दिए । ती पालिकाका ती उमेर समूहका पाँच हजार ४९७ बालबालिकालाई ६१ खोपकेन्द्र मार्फत खोप लगाइएको हो ।
ती मध्ये सिमकोटका एक हजार ४१४, नाम्खाका ३३१, खार्पुनाथका ६०३, अदानचुलीका एक हजार १७७ ,ताँजकोटका ५६७, चङ्खेलीमा ५७६ र सर्केगाड गाउँपालिकाका ८२७ रहेका छन् ।
उत्तरी नाम्खा गाउँपालिका–६ लिमी र यारीका बालबालिका खोप लगाउनबाट बञ्चित भएका छन् । यस क्षेत्रमा अत्यधिक चिसोका साथै बाक्लो हिमपातले स्वास्थ्यकर्मी र खोप पुर्याउन कठिनाइ हुने जनाइएको छ । यहाँका बालबालिकालाई खोप कहिले लगाउने भन्ने अझै टुङ्गो लागि नसकेको उनले बताए ।
यसैगरी दक्षिण क्षेत्रमा रहेको चङ्खेली गाउँपालिका १ र ५ मा रहेको नेक्पागाउँका बालबालिका खोप लगाउनबाट छुटेकालाई एक दुई दिनमा खोप लगाउने अभियान सञ्चालन गरिनेछ । जिल्लामा छ हजार ३७० डोज मात्रामात्रै मोडर्ना खोप आइपुगेको थियो ।
पाँच हजार बढी बालबालिकालाई खोप लगाएर अब २२९ डोज बाँकी रहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका नौ हजार ९४० बालबालिकालाई खोप लगाउने लक्ष्य थियो ।
पहिलो चरणमा यही पुस ४ देखि १४ गतेसम्म पहिलो मात्रा लगाएका बालबालिकाले यसको २८ दिनपछि दोस्रो मात्रा खोप लगाउनुपर्ने हुन्छ । जिल्लाभर विद्यालयमा अध्ययरत ती उमेर समूहका बालबालिकाको सङ्ख्या छ हजार ६७ रहेको जनाइएको छ ।
ए.के. सञ्चार । १८ पुष २०७८, आईतवार ११:०८