साथीबीच झगडा हुँदा एक जनाको ज्यान गर्याे

रुकुम पूर्व । रुकुम पूर्वमा दुई जना साथीबीच झगडा हुँदा एक बालकको ज्यान गएको छ । जङ्गलमा सँगै गाई चराउन गएका एक बालकको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।
भूमे गाउँपालिका १ लुकुमका आठ वर्षीय बालकको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक डीएसपी गणेशबहादुर श्रेष्ठका अनुसार लुकुमको धामता भन्ने जङ्गलमा गाई चराउन गएका ती बालकको ९ वर्षका साथीसँग झगडा भएको थियो ।

झगडा हुँदा ९ वर्षका साथीले उनलाई कुटपिट गरी भिरबाट धकेलेका थिए । भिरबाट खसालेपछि आठ वर्षीय बालक गम्भीर घाइते थिए । घाइते बालकलाई आफन्तले सोमवार बेलुका रुकुम पूर्व अस्पतालमा ल्याएका थिए । अस्पताल पुर्‍याएलगत्तै डाक्टरले ती बालकलाई मृत घोषणा गरेका हुन् ।

कुटपिट गरेर भिरबाट खसाल्ने ९ वर्षका बालक र सँगै गोठाला गएका अर्का आठ वर्षका बालकलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर घटनाका अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।