महिलालाई पैताला चटाउने तीन जना धामी धरौटीमा छुटे

सुर्खेत । सुर्खेतको लेकवेशी नगरपालिका–४ मा भएको कुलपूजाका नाममा महिलालाई पैताला चटाउने तीन जना पुरूष धामी धरौटी बुझाएर छुटेका छन् । सुर्खेत जिल्ला अदालतको फैसला अनुसार उनीहरू धरौटीमा रिहा भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

निमित्त प्रवक्ता प्रहरी निरीक्षक कनक शाहीका अनुसार उनीहरू जनही एक लाख रुपैयाँ धरौटीमा छुटेका हुन् । प्रहरीले पुस ६ गते कुलपूजाका नाममा महिलामाथि दुर्व्यवहार गरेको आरोपमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ का ६६ वर्षीय भूपेन्द्र ज्ञवाली, वडा नम्बर ७ का भक्ति ज्ञवाली र बराहताल गाउँपालिका–८ का मिलन ज्ञवालीलाई पक्राउ गरेको थियो ।

प्रहरी प्रतिवेदनका आधारमा मुद्दा दर्ता गरी प्रहरीले उनीहरूमाथि अनुसन्धान गरेको थियो । आफ्नो अनुसन्धान सकिएपछि प्रहरीले सरकारी वकिलमार्फत् पुस १६ गते अदालतलमा उनीहरूलाई बुझाएको थियो । उनीहरूले महिलामाथि अमानवीय व्यवहार गरेको भिडिओ सार्वजनिक भएको थियो ।