स्याउ-ओखर विकास बोर्ड गठन गर्न कृषककाे माग

सुर्खेत । कर्णाली प्रदेश स्याउ तथा ओखर विकास बोर्ड’ गठन गर्न कृषकले माग गरेका छन् । कर्णाली प्रदेशसभा सदस्य नरेश भण्डारी नेतृत्वको टोलीले स्याउ तथा ओखर विकास बोर्ड’ गठन गर्न माग गरेका हुन् ।

पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्रीसमेत रहेका भण्डारीको नेतृत्वमा प्रदेशसभा सदस्यद्वय पदमबहादुर रोकाय, बीरबहादुर शाही र अगुवा कृषकहरुसहितको १४ सदस्यीय टोलीले स्याउ तथा ओखर विकास बोर्ड गठनार्थ आज कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई मागपत्र पेश गरेका छन् । पाँच बुँदे मागपत्र स्याउ उत्पादक किसान तथा व्यवसायी संघ जुम्लाका अध्यक्ष प्रेमबहादुर बस्नेतले मुख्यमन्त्री शाहीलाई बुझाएका हुन् ।

‘स्याउ तथा ओखर विकास बोर्ड’ गठन तथा चुकेनी जलविद्युत आयोजनाको बजेट विनियोजन मागपत्र लिएर प्रदेशसभा सदस्यहरुसहित जुम्लाका प्रतिनिधिहरु राजबहादुर कुँवर, साहसी राजकुमार शाही, मोतिलाल बोहोरा, गोरबहादुर बुढा, सन्तबिर रोकाय, शेरबहादुर बोहोरा, सन्तबिर रावत, ताराबहादुर बोहोरा, सुमबहादुर बुढा, कालीबहादुर बोहोरा र हिरा बुढा मुख्यमन्त्री कार्यालय तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका पुगेका थिए ।