सुर्खेतकाे छिन्चुमा बसपार्क बन्ने

सुर्खेत । कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार रहेको भेरीगंगा नगरपालिका–१२ छिन्चुमा ‘छिन्चु बसपार्क’ बन्ने भएको छ । शहरी पूर्वाधार विकास कार्यक्रम  अन्तर्गत भेरीगंगा नगरपालिका र नगर विकास कोषबीच ऋण सम्झौता सम्पन्न गरिएको छ ।

नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र भेरीगंगा नगरपालिकाका नगरप्रमुख भुपेन्द्र बहादुर चन्दबीच १३ करोड ७४ हजारको ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।

छिन्चु बसपार्क आयोजना निर्माणको अनुमानित लागत १८ करोड ५८ लाख २० हजार अनुमान गरिएको छ । त्यसको ७० प्रतिशत ऋण रकम कोषको तर्फबाट र ३० प्रतिशत रकम नगरपालिकाबाट व्यहोर्ने उपप्रमुख रेणु आचार्यले जानकारी दिइन् ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निर्माण हुने बसपार्कको यो आयोजना प्रदेशकै एक महत्वपूर्ण र नमूना आयोजनाको रुपमा हेरिएको छ ।’ उनका अनुसार बसपार्क करिब ३३ रोपनी क्षेत्रफलमा निर्माण हुने छ ।

यस आयोजनाबाट हाल बजारमा अव्यवस्थितरुपमा संचालन भैरहेको लामो तथा छोटा दुरीका सवारी साधनहरुलाई व्यवस्थित गर्न तथा आधुनिक पूर्वाधारयुक्त बसपार्क सेवा सुविधा प्रवाह गर्न महत्वपूर्ण योगदान दिनेछ । छिन्चु वीरेन्द्रनगरपछिको दोस्रो ठुलो बजार क्षेत्र भएको स्थान हो ।