सुत्केरी पछि आमा र नवजात शिशु दुवैको मृत्यु

हुम्ला । जिल्ला अस्पताल हुम्लामा सुत्केरी पछि आमा र नवजात शिशु दुवैको मृत्यु भएको छ । सिमकोट गाउँपालिका–५ की २१ वर्षीया टीका सार्कीको यही माघ ७ र नवजात शिशुको माघ ५ अकालमा मृत्यु भएको हो । अस्पतालका अनुसार उनीको शल्यक्रिया गरेर सुत्केरी गराइएको थियो ।

टीकाका ससुरा धनसिंह सार्की अनुसार सुत्केरी व्यथाले च्यापेपछि उनीलाई जिल्ला अस्पतालमा लगिएको थियो । यसपछि शल्याक्रिया गरेर बच्चा जन्माइएको थियो । शल्यक्रिया गरेको दुई दिनसम्म टीकाका स्वास्थ्यमा उल्लेखनीय सुधार भए पनि शुक्रबार साँझ अचानक स्वास्थ्यमा समस्या देखिएको बताइएको छ । जिल्ला अस्पतालले उद्धारका लागि तत्काल हेलिकोप्टरको व्यवस्था गरेको भए पनि उनीको सोही राति नै मृत्यु भएको अस्पतालले जनाएको छ ।