तत्काल संघीय शिक्षा ऐन जारी गर्न मुख्यमन्त्री शाहीको सुझाव

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले तत्काल संघीय शिक्षा ऐन जारी गर्नुपर्ने सुझाव दिएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा सोमबारआयोजित सार्वजनिक शिक्षाको गुणस्तर सुधारः प्रमुख मुद्दा र समाधान विषयक भर्चुअल अन्तरक्रियामा मुख्यमन्त्री शाहीले संघीय शिक्षा ऐन जारी गर्नुपर्नेमा ध्यानाकर्षण गराउँदै प्राविधिक शिक्षालाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिए ।

उनले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसँग शैक्षिक क्षेत्रमा देखिएका समस्या समाधान र त्यसको व्यवस्थापनका लागि शिक्षा ऐन अपरिहार्य भएको बताए । यसैगरी, उनले माध्यमिक शिक्षासम्मको पूर्ण अधिकार स्थानीय सरकारलाई दिनुपर्ने, उच्च हिमाली क्षेत्रमा सञ्चालित आवासीय विद्यालयमा आवश्यक बजेट व्यवस्थापन गर्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा शिक्षामन्त्री पौडेलले शिक्षा ऐन अगाडि बढेको जनाउँदै आएका सुझाव निकै गहन भएको प्रतिक्रिया दिए ।