कर्णालीमा राष्ट्रिय सभा निर्वाचनको मतदान जारी (फोटो फिचर)

सुर्खेत । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कर्णाली प्रदेशमा मतदान जारी छ । विहान ९ बजेबाट शुरू भएको मतदान प्रक्रियामा प्रदेश सांसद र पालिकाका प्रमुख-उपप्रमुख र अध्यक्ष-उपाध्यक्षहरूले अहिले मतदान गरिरको छन् । महिला, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समूह गरी तीन सिटका लागि ६ जना प्रतिस्पर्धामा छन् ।


महिलातर्फको एक सिटका लागि सत्तारूढ गठबन्धनबाट कांग्रेसकी दुर्गा गुरूङ, प्रमुख प्रतिपक्षी एमालेकी गंगा थापा महत ले उम्मेद्वारी दर्ता गराएका छन् । अपाङ्गगता भएका व्यक्ति वा अल्पसंख्यकतर्फको एक सिटका लागि सत्तारूढ गठबन्धनबाट माओबादी केन्द्रका नरबहादुर विष्ट र एमालेका पदमबहादुर माझीले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै अन्य समूहतर्फको एक सिटका लागि सत्तारूढ गठबन्धनबाट एकीकृत समाजवादीका उदयबहादुर बोहोरा र एमालेका चुडामणि शर्माले उम्मेदवारी दर्ता गराएका छन् । कर्णाली प्रदेशमा प्रदेश सदस्य र पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षसहित एक सय ५६ जना मतदाना रहेका छन् ।


प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख, उपप्रमुखको मतभार १८ हो । कर्णाली प्रदेशमा जम्मा मतभार ४ हजार सय ८० रहेको छ । प्रदेश सभाका सदस्यको एक हजार ६ सय ८० र स्थानीय तहका प्रमुख, उपप्रमुखको मतभार दुइ हजार ७ सय रहेको छ । सत्तारूढ गठबन्धनमा रहेको माओबादी केन्द्रको सबैभन्दा बढी मतभार रहेको छ । माओवादी केन्द्रको सांसद संख्या १२ र स्थानीय तहको प्रमुख, उपप्रमुखको संख्या ५२ रहेको छ । जसको मतभार एक हजार ५ सय १२ हुन्छ । कांग्रेसको कर्णालीमा प्रदेशमा सांसद संख्या ६ र स्थायी तहको प्रमुख, उपप्रमुखको संख्या ४० रहेको छ । जसको मतभार १ हजार ८ हुन्छ ।


एकीकृत समाजवादीको कर्णाली प्रदेशमा तीन जना सांसद छन् भने प्रमुख, उपप्रमुखको संख्या १३ रहेको छ । एकीकृत समाजवादीको मतभार तीन सय ७८ हुन्छ । सत्तारूढ गठबन्धनमा रहेको जसपाको सांसद र प्रमुख, उपप्रमुख कर्णाली प्रदेशमा शून्य छ । प्रमुख प्रतिपक्षी दल एमालेको कर्णाली प्रदेशमा सांसदको संख्या १३ र स्थानीय तहको प्रमुख, उपप्रमुखको संख्या ४५ रहेको छ । यसका आधारमा एमालेको मतभार १४ सय ३४ हुन्छ । यस्तै राप्रपाको सासद संख्या १ रहेको छ । जसका मतभार ४८ हुन्छ । कर्णाली प्रदेशमा सत्तारूढ गठबन्धनको मतभार दुइ हजार ८ सय ९८ हुन्छ ।