दैलेख पूर्ण लोडसेडिङ्ग मुक्त बन्दै, उत्पादीत विद्युत राष्ट्रिय प्रशारण लाईनमा जोडियो

सुर्खेत। कर्णालीमा पहिलोपटक उत्पादन भएको विजुली राष्ट्रिय प्रशारण लाईनमा जोडिएको छ । दैलेख नौमुले गाउँपालिकामा निर्माण भएका दुईवटा जलविद्युत् आयोजनाबाट ८.२५ मेघावाट विद्युत राष्ट्रिय प्रशारण लाईनमा जडान गरिएको हो । यो सँगै अब दैलेख पूर्ण रुपमा लोडसेडिङ्ग मुक्त जिल्ला बन्ने भएको छ ।

दैलेखबाट उत्पादित विद्युत राष्ट्रिय प्रशारण लाईनमा जडान कर्णाली प्रदेशकै पहिलो हो । विद्युत उत्पादन सफल परीक्षण भएको छ । नौमुले गाउँपालिका–३ द्वारीमा निर्माण भएको ३.७५ मेगावाट क्षमताको द्वारी जलविद्युत् आयोजना र सोही गाउँपालिकाको वडा नं. ४ मा निर्माण भएको ४.५ मेगावाट क्षमताको पदमखोला जलविद्युत् आयोजनाको सफल परीक्षण भएको हो ।

नेपाल विद्युत् प्राधिकरण दैलेख केन्द्र दैलेखका प्रमुख गौरव पाण्डेले कोहलपुर–सुर्खेत लाइन अवरुद्ध हुँदा दैलेखमा समेत विद्युत् अवरुद्ध हुने समस्या अब समाधान भएको बताए ।

उनले भने, ‘अहिले पावरहाउस निर्माण गरेको भारतीय कम्पनीबाट इन्जिनियरले आइसोलेसन मोड सञ्चालन गर्ने काम सुरु गरिएको छ । अब विद्युत् नियमित हुनेछ । माघ १५ गतेभित्र दैलेख सदरमुकाम पूर्ण लोडसेडिङमुक्त हुनेछ । चैतभित्र दुल्लु क्षेत्र र असारसम्म जिल्ला नै लोडसेडिङमुक्त बनाउने अभियानको थालनी गरिएको छ ।’