मुगुका तत्कालीन गाविस सचिव सहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । मुगुको साबिक रारा गाविसका तत्कालीन सचिव पदमबहादुर भण्डारीसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आयोगले तीन जना पूर्व गाविस सचिव र सहायक लेखापालविरुद्ध मुद्दा दायर गरेको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले बताए । आर्थिक वर्ष २०७१\०७२ र २०७२\०७३ मा रारा गाविसमा निकास भएको सामाजिक सुरक्षा भत्ता र बालपोषण भत्ताबापतको रकम किर्ते कागजात बनाएर भ्रंष्टाचार भएको आयोगको ठहर छ ।

तत्कालीन गाविस सचिव पदमबहादुर भण्डारीले आर्थिक वर्ष २०७१\२०७२ मा कार्यरत रहँदा ७ लाख ६० हजार ८ सय रुपैयाँ अनियमितता गरेको पाइएको आयोगले जनाएको छ ।

त्यस्तै, तत्कालीन सचिव तीर्थराज शाहीले २०७२ श्रावणदेखि २०७२ कात्तिकसम्मको एक चौमासिक अवधिसम्म कार्यरत रहँदा १६ हजार रुपैयाँ र तत्कालीन सचिव नव गिरी तथा तत्कालीन सहायक लेखापाल हस्तबहादुर शाहीले २०७२ मंसिरदेखि २०७३ साल असारसम्मको दुई चौमासिक अवधिमा कार्यरत रहँदा ३६ हजार ८ सय रुपैयाँ रकम हिनामिना गरेको पाइएपछि सोहीबराबरको बिगो दाबीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।