कर्णाली ‘उत्सव’ को तेस्रो संस्करण फागुन २७ गतेदेखि

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कर्णाली ‘उत्सव’ को तेस्रो संस्करण सञ्चालन हुने भएको छ । यही फागुन २७ देखि २९ गतेसम्म सञ्चालन हुने भएको हो ।

‘कुडा कर्नाली’का भन्ने मूल नाराका साथ हरेक वर्ष फागुनमा सञ्चालन हुँदै आएको उत्सवको तेस्रो संस्करणमा कर्णालीसम्बन्धी र राष्ट्रिय विषयवस्तुमा बहस हुने आयोजक ऋति फाउण्डेसनले जनाएको छ ।

फाउण्डेसनले कर्णाली प्रदेश सरकार, वीरेन्द्रनगर नगरपालिका तथा विभिन्न सङ्घसंस्था तथा व्यावसायिक प्रतिष्ठानको साझेदारीमा ‘कर्णाली उत्सव’ आयोजना गर्दै आएको छ ।

‘कर्णाली उत्सव, कुडा कर्णालीका’ का संयोजक तथा ऋति फाउण्डेसन अध्यक्ष कमलराज लम्सालले तीन दिनसम्म सञ्चालन हुने उत्सवमा ११ सत्रमा विभिन्न विषयवस्तुमा बहस हुने जानकारी दिए । उत्सवमा कविता, गजल, सांस्कृतिक प्रस्तुतिका साथै पुस्तक विमोचनको समेत कार्यक्रम रहेको छ ।