सल्यानमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

सल्यान । सल्यानमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका खलङ्गाबाट श्रीनगर जाँदै गरेको रा ४ प ९१७१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा शारदा नगरपालिका १ पटनेरी बस्ने २५ का दीपेश डाँगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका डाँगीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी तथा प्रहरी प्रवक्ता अर्जुन पौडेलले जानकारी दिए । उनका अनुसार मोटरसाइकल चालक नीरज सिंह सामान्य घाइते भएको र उनलाई उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

अहिले शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएको पौडेलले जानकारी गराए । पीडित पक्षले आइतबार बिहान सडक अवरुद्धसमेत गरेका थिए । तत्काल क्रिया खर्च बापत ५० हजार र दुर्घटना बिमा लगायत अन्य राहत उपलब्ध गराउने सहमति पछि अवरुद्ध सडक सञ्चालनमा आएको छ ।