मुगुमा एक हप्तासम्म विद्युत बन्द हुने

मुगु । आगामी शनिवारदेखि एक हप्तासम्म विद्युत बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरण मुगु गमगाढ वितरण केन्द्रअन्तर्गत गमगाड जलविद्युत आयोजनाको बालैमा रहेको इन्टेकमा समस्या भएको हुँदा मर्मतका लागि पानी बन्द गर्नुपर्ने भएकाले सदरमुकाम गमगढी बजारलगायत आसपासका गाउँमा १२ चैत विहान ८ बजेदेखि १९ चैतसम्म विद्युत सेवा अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरण गमगाड वितरण केन्द्र मुगुका प्रमुख दिनेश पौड्यालले यसबाट पर्ने असुविधाप्रति प्राधिकरण क्षमा चाहने बताए ।

यहाँका ग्राहकले यसअघि पनि पटक पटक विद्युत सेवामा समस्या झैल्दै आइरहेका छन् । मेसिनले राम्रो काम नगर्नु कहिले पानीको मुहानमा समस्या देखिनु जस्ता पीडा भोग्दै आइरहेका छन् । यस्तो सास्ती खेपिरहदा यहाँका राजनितिक दल, स्थानीय तहलगायत निकायले पहलकदमी नरहेको स्थानीयको आरोप छ ।

जिल्लाका करिब १० हजार घरधुरीलाई लक्षित गरी गमगाढ साना जलविद्युत आयोजना स्थापना भएको हो ।