अध्यक्ष ओली आज आमसभालाई सम्बोधन गर्न हुम्ला जाँदै

सिमकोट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज हुम्लाको दुई स्थानमा हुने आमसभालाई सम्बोधन गर्न जाँदै छन्  ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लक्षित प्रचार र पार्टीको जिल्लाको अवस्था बुझ्न अध्यक्ष ओली हुम्ला जान लागेको नेकपा एमाले जिल्ला पार्टी सचिव तीर्थराज बोहराले बताए ।

जिल्लाको तीन ठाउँमा अध्यक्ष ओलीले भ्रमण गर्ने भए पनि निर्वाचन केन्द्रित दुई वटा आमसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

बिहान ११ बजे हेलिकोप्टरबाट हुम्ला पुगे लगत्तै एमाले अध्यक्ष ओली पहिले उत्तरी नाम्खा गाउँपालिकाको लिमि भ्यालीमा पुग्ने र लिमि क्षेत्रको अवलोकन गर्ने कार्यक्रम रहेको स्थायी कमिटी सदस्य गोरख बहादुर बोगटीले बताए ।

लिमीका बासिन्दासँग भेटेपछि नेपाल र चीनको सिमाना नाम्खा गाउँपालिकाको लिमीमा रहेको लोलुङजोङको हवाई अवलोकन गरेपछि अध्यक्ष ओलीले हुम्ला सदरमुकाम सिमकोटमा आयोजना हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

ओलीले जिल्ला दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाको श्रीनगरमा हुने सभालाई पनि सम्बोधन गर्नेछन्  ।