जुम्लाकाे कुडारीमा आगलागी हुँदा चारकाे मृत्यु

जुम्ला । जुम्लाको तिला गाउँपालिकाका–३ कुडारीमा आगलागी हुँदा एकै घरका चार बालबालिकाकाे मृत्यु भएको छ । सार्की वाडामा गए राति आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको हाे ।

आगलागीबाट मानसिंह सार्कीका दुई छोरी, एक छोरा र एक भान्जीको मृत्यु भएको छ । मृत्यु हुनेमा सार्कीका छोरीहरू ११ वर्षीया अनु र तीन वर्षीया दर्शना तथा एक वर्षीय छोरा दीपेश र भान्जी १४ वर्षीया तिर्सना सार्की रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । आगलागीबारे राति ११ः४५ बजे भएको प्रहरी नायब उपरीक्षक चन्दले बताए ।

आगलागीका कारण बेहोस भएका मानसिंह र उनकी श्रीमती फागुनी तथा बहिनी रुन्चकलीलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ ।

मृतक चारै बालबालिकाको शव परीक्षणका लागि प्रतिष्ठानमा ल्याउँदै गरेको चन्दले जनाए । घटना कसरी भएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।