सटर फोरेर करिब चार सय तोला सुन चोरी

काठमाडौं । बुटवलमा रातिको समयमा सटर फोरेर करिब चार सय तोला सुन चोरी भएको छ । यो सोमबार रातिको घटना सुनचाँदी व्यवसायीहरूले बुधबार मात्र पत्रकार सम्मेलन गरेर जानकारी गराएपछि बाहिर आएको हो ।बुटवलको बिपी चोकमा रहेको नन्दराम सुनारको सुनचाँदी पसलबाट ३६० तोला बराबरको सुनका गरहगना तथा २३ तोला काँचो सुन चोरी भएको हो । सुनसँगै नगद पाँच लाख रुपैयाँसमेत चोरी भएको सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

सुनचाँदी पसल भएको घर भाडामा लिएर केही व्यक्तिहरूले पसल राख्नको लागि भन्दै डेकोरेसनको काम थालेका थिए । प्रहरीले घटनामा उनीहरूको संलग्नता भएको आशंकामा अनुसन्धान सुरु गरेको छ । उक्त घर योगेन्द्र अग्रहरीको हो । भारतीय नागरिकहरूले पसल राख्नका लागि भन्दै घर भाडामा लिएर डेकोरेसनलगायतको काम सुरु गरेका बेला सुन पसल चोरी भएको हो ।

रुपन्देहीमा विगतमा पनि सुनचाँदी पसल फोरेर चोरी हुने गरेको भए पनि यो घटना अहिलेसम्मकै ठूलो भएको सुनचाँदी व्यवसायी संघ रुपन्देहीका अध्यक्ष रामकृष्ण विश्वकर्माले बताए । उनका अनुसार रुपन्देहीको रानीबगियामा पनि केही समयअघि सुन पसल लुटपाटको प्रयास भएको थियो । त्यसक्रममा सुन लुट्न आएकाहरूले व्यवसायीलाई आक्रमण गरी घाइते बनाएको विश्वकर्माले बताए । रुपन्देहीकै बुद्धनगरमा पनि केही दिनअघि एक महिलाको सुन लुटिएको थियो ।

सुनचाँदी व्यवसायी संघ बुटवलका अध्यक्ष गोकुल विश्वकर्माले पटकपटक सुनचाँदी व्यवसायी लुटिने क्रम बढेको र कुनै पनि घटनामा पीडितले न्याय नपाएको बताए ।व्यवसायीहरूले पटकपटक सुनपसलमा चोरी हुँदा पनि प्रहरी प्रशासन मुकदर्शक बनेको र सुरक्षा दिन नसकेको गुनासो गरेका छन् । प्रहरीले भने सुन पसलमा चोरी गर्नेहरूको खोजिभइरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले घटनामा संलग्नहरुको खोजी भइरहेको जानकारी दिए ।