कांग्रेसले २७ वर्ष सरकार चलाउँदा केही गरेन –ओली

काठमाडौं । एमाले अध्यक्ष केपी ओली नेपाली कांग्रेसमाथि खनिएका छन् । कांग्रेस लामो समय सरकारमा रहँदा पनि देश र जनताका लागि केही गर्न नसकेको उनको आरोप छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा ओलीले कांग्रेस अहिलेसम्म २७ वर्ष सरकारमा रहेको बताए । कांग्रेसले २० वर्ष आफ्नै नेतृत्वमा एकल सरकार चलाएको बेला पनि जनताका लागि केही गर्न नसकेको उनको आरोप छ ।

सुशासन र विकासको मार्गमा तीव्र गतिमा अघि बढिरहेको देशलाई व्यवधान खडा गरेर यथास्थितिमा राख्न र पछाडि फर्काउनका लागि राष्ट्रियता, लोकतन्त्र र जनताप्रतिको कर्तव्य बोधमा कमजोर रहेका तत्वहरूलाई खोज्ने र त्यस्ताको साथ, सहयोग लिएर राजनीतिक र देशहितका सम्बन्धमा उल्टो बाटो समात्ने काम गरेको ओलीको भनाई छ ।

नेपाली कांग्रेसको सुविधामा आधारित परराष्ट्र नीतिले राष्ट्रियतामा कुठाराघात भएको छ । विगतमा राणा, राजा र कांग्रेसको सरकारले जनताको लागि कुनै योजना अघि नबढाएको उनको आरोप छ । स्वर्ग जस्तो देशलाई विकास गर्नुभन्दा कांग्रेसले संसारकै गरिब देश बनाएको उनको आरोप छ । कांग्रेसले एमालेसँग कहिल्यै सहकार्य गर्न नचाहेको उनको आरोप छ ।

कांग्रेसको आन्तरिक घेराबन्दीसँगै नाकाबन्दीको पनि सामना गरेर एमाले सरकार अघि बढेको उनले दाबी गरे । कांग्रेसले जनादेशमाथि कुठाराघात गरेको समेत उनले आरोप लगाए । ‘कांग्रेसले जनमतको आधारमा भन्दा पनि जनादेशको अपमान गरिरहेको उनको भनाई छ । त्यस्तै अब कम्तीमा दुई अवधि पाँच पाँच वर्ष एमालेलाई विजयी गराई देशमा स्थिरता र स्थायित्व गराउन अनुरोध गरेका छन् । कांग्रेसलाई मतदान गर्ने धारणा बनाइरहेका मतदातालाई सूर्य चिन्हमा मतदान गर्न ओलीले आग्रह गरे ।