आयुर्वेद स्वास्थ्य केन्द्र जुम्ला पाँच महिनादेखि कार्यालय प्रमुखविहीन

जुम्ला । आयुर्वेद स्वास्थ्य केन्द्र जुम्ला पाँच महिनादेखि कार्यालय प्रमुखविहीन बनेको छ । तत्कालिन कार्यालय प्रमुख देवेन्द्र ठाकुरको सरुवा भएसँगै गत पुसदेखि केन्द्र प्रमुखविहीन भएको हो ।

पाँच महिनादेखि कार्यालय प्रमुख नहँुदा केन्द्रले नियमित रुपमा दिँदै आएका सबै सेवा प्रभावित भएको छ । ठाकुर पुसमा सरुवा भएर जाजरकोट गएका थिए । आयुर्वेद स्वास्थ्य केन्द्र जाजरकोटले उनलाई हाजिरी हुन नदिएपछि फेरि १ चैतसम्म जुम्लामै हाजिर गरे । जुम्लामा हाजिर गरे पनि रमना लिइसकेकाले तलब नपाएपछि उनी सुर्खेत गएका थिए ।

करारका कर्मचारीले पाएनन् पाँच महिनादेखि तलब
कार्यालय प्रमुख नहुँदा दैनिक आर्थिक कारोेबार मात्रै बन्द भएको छैन कार्यालयका लागि आवश्यक औषधि, प्रयोगशालाका सामान, ल्याबमा आवश्यक सामाग्रीको भुक्तानी समेत हुन सकेको छैन ।

केन्द्रका वैद्य गोर्खबहादुर रावतका अनुसार प्रमुख नहँुदा करारका कर्मचारीले पाँच महिनादेखि तलब समेत पाएका छैनन् । उनले भने ‘केन्द्रमा १५ जना कर्मचारी छन् । जसमध्ये १३ जना करार कर्मचारी छन् ।

उनी अहिले कार्यालय प्रमुख पठाइदिन भन्दै कर्णाली प्रदेशको राजधानी सुर्खेत धाइरहेको बाताए । तर कार्यालय प्रमुख पठाउने बारे सुनुवाइ नभएका उनको भनाइ छ । उनले सामाजिक विकास मन्त्रालय सहितका सरोकारवाला निकायमा कार्यालय प्रमुख व्यवस्था गरिदिन सात पटक पत्र समेत पठाएको बताए । पत्रमार्फत सुनुवाइ नभएपछि आफै प्रदेश राजधानी पुगेर प्रमुख नपठाउँदा आयुर्वेदका सबै काम प्रभावित रहेको बताए । उनले सेवाग्राहीलाई औषधि तथा आवश्यक सामग्री दिन नसकेको बताए ।

पुँजीगत वित्तिय प्रगति शून्य
केन्द्रमा आवश्यक फर्निचर खरिद, ल्याबका सामग्री खरिद, औषधि खरिदको भुक्तानी समेत हुन नसक्दा पुँजीगत वित्तीय प्रगति शून्य भएको छ । कार्यालय मर्मतका लागि २० लाख र डिपीआरका लागि पाँच लाख आएकोमा त्यो काम पनि हुन नसकेको रावतले बाताए ।

वैद्य रावतका अनुसार मन्त्रालयले केही सयमअघि एउटा पत्र दिएको थियो । उक्त पत्रअनुसार तलबभत्ता, पोषाक, घरभाडा, बत्ती, बिजुली महशुल शीर्षकमा खर्च गर्न सकिनेछ । तर करारका कर्मचारीलाई भने तलब दिन नपाउने व्यहोरा उल्लेख छ ।

खाली हात फर्किन्छन, सेवाग्राही
यस केन्द्रमा दैनिक १५ देखि ३० जना सेवाग्राही आउँथे । तर, औषधि अभावका कारण रित्तो हात फर्किनु परेपछि सेवाग्राही घटेका छन् । खातामा पैसा छ तर औषधि खरिद गर्ने पक्रिया बढाउन नसक्दा सेवाग्राहीले सेवा पाइरहेका छैनन् । औषधि छैन भन्ने थाहा पाएपछि सेवाग्राही आउनै छाडेका छन् ।

गत आर्थिक बर्ष पनि कार्यालय प्रमुखकै कारण काम गर्न नसकेर १२ लाख फ्रिज भएको थियो । कार्यालय प्रमुख नहुँदा आयुर्वेद स्वास्थ्य केन्द्र धरापमा पर्ने अवस्थामा पुगेको स्थानीयवासीको चिन्ता छ । स्थानीय राजुशरण न्यौपानेले ठूलो उद्देश्यका साथ स्थापना भएको संस्था कर्मचारीकै कारण जीर्ण बन्ने अवस्थामा पुग्नु दुखद् भएको बताए ।

सामाजिक विकास मन्त्रालयका आयुर्वेद चिकित्सक लक्ष्मी नारायण तिवारीका अनुसार चाडैनै समस्या सामाधान हुने आशा गरेको बताए । मन्त्रालयका सचिवलाई समस्या बारे जानकारी गराएको उनको भनाइ छ ।