जुम्लामा नुन अभाव

जुम्ला। जुम्लामा नुन अभाव भएको छ। कर्णाली राजमार्ग सञ्चालन हुँदा पनि कर्णालीका जनताले पहिलेकै समस्या भोग्न बाध्य भएका छन् । साल्ट ट्रेडिङ कर्पोरेसनको कार्यालय जुम्लाका प्रमुख खगेन्द्र मल्लले जुम्लामा नुनका गोदाम खालि भएकाे बताए ।

१५ वर्षको अन्तराल पछि जुम्लाका नुनका गोदाम रित्तिएका हुन् । जुम्लामा तीन वटा डिपो रहेका छन् । खलंगास्थित डिपोमा १ सय ७९ क्विन्टल मात्र नुन मौज्दात छ । मौज्दात हेर्दा असार अन्तिमसम्म पनि पुर्‍याउन सकिने अवस्था नरहेको प्रमुख मल्ल जनाए ।

चालु आर्थिक वर्षमा जुम्लाको लागि ३ हजार क्विन्टल नुनको कोटा तोकिएको थियो । कोटा अनुसारको नुन समयमै पुगेर बिक्री भइसकेको छ ।प्रदेश कार्यालयले नुनको अभावलाई मध्यनजर गर्दै २ हजार ३ सय क्विन्टल कोटा थपेको छ ।

जुम्लामा एक नगरपालिकासहित ७ गाउँपालिका छन् । नगरपालिका सहित ५ पालिकाले सदरमुकाम खलंगाको डिपोबाट नुन लिन्छन् । कनकासुन्दरी, सिंजा र हिमाका स्थानीयले नराकोट र कनकासुन्दरी डिपोबाट नुन उपयोग गर्छन् । साल्ट ट्रेडिङ कर्पोरेसन क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रमुख मनोजकुमार चौधरीले जुम्ला बाहेक कर्णालीका हुम्ला, मुगु, कालिकोट र डोल्पा जिल्लामा नुनको अभाव नभएको बताए ।