झाङ्गियो भ्रष्टाचार,अख्तियारमा एक वर्षमा परे २४ हजारभन्दा बढी उजुरी

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक वर्षको अवधिमा २४ हजारभन्दा बढी भ्रष्टाचार सम्बन्धी उजुरी परेका छन् । अख्तियारका अनुसार आर्थिक वर्ष २०७८–७९ मा ती उजुरी परेका हुन् । सो अवधिमा कूल २४ हजार २४१ वटा उजुरी परेको अख्यिारले जनाएको छ ।

आर्थिक वर्ष २०७८–७९ मा आयोगमा विभिन्न माध्यमबाट १६ हजार १४८ र अघिल्लो आर्थिक वर्ष २०७७–७८ बाट जिम्मेवारी सरेर आएका ८ हजार ९३ गरी कुल २४ हजार २४१ उजुरी परेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले बताए । ‘कुल २४ हजार २४१ उजुरीहरु रहेको मध्ये १७ हजार ९८ उजुरी पछर्यौट गरिएका छन्, जुन कुल उजुरी संख्याको करिव ७०.५३ प्रतिशत हुन आउँछ,’ प्रवक्ता भण्डारीले भने ।

अघिल्लो आर्थिक वर्ष २०७७–७८ मा भन्दा गत आर्थिक वर्ष २०७८–७९ मा १ हजार ६१६ उजुरी बढी परेका छन् । गत आर्थिक वर्ष अख्यितारमा भ्रष्टाचार सम्बन्धी कुल २२ हजार ६२५ वटा उजुरी परेका थिए ।आर्थिक वर्ष २०७७–७८ मा परेका कुल उजुरीमध्ये १४ सय ५३२ वटा (६४.२३ प्रतिशत) उजुरी पछर्यौट भएका थिए ।