जहाँ अर्गानिक र रैथाने उत्पादनको मूल्य छैन

मुगु । छायानाथ रारा नगरपालिका–३ की रामदेवी बुढा हरेक दिन साँझबिहान मुगु सदरमुकाम गमगढी बजारमा हरिया सागसब्जी र ताजा तरकारी बेच्न आइपुग्छिन् । आफैले उत्पादन गरेको रैथाने र अर्गानिक तरकारी उनी हिउँद बर्खा सधैभरि यसरी नै बेच्छिन् । बिहान साँझ तरकारी बेच्न बजार आए पनि दिउँसभर खेतिपातीमै हुन्छिन् ।

अन्य परम्परागत खेतीभन्दा तरकारीमा आम्दानी राम्रो देखेर उनी बिस्तारै यतातिर आकर्षित भएकी हुन् । रैथाने तरकारी जोगाउन र अर्गानिक खेतीमा जोड दिए पनि बजारमा भने यस्ता उत्पादनको मूल्य नपाउँदा उनी दिक्क मान्छिन् । उनी भन्छिन्, ‘लगानी अनुसार मूल्य नपाउँदा मन खिन्न हुन्छ ।

उनका अनुसार तरकारी खेतीमा कहिल्यै पनि रासायनिक मल हाल्ने गरेको छैन । उनी भन्छिन्, ‘आफ्नै खेतबारी बिगार्ने रासायनिक मल किन हाल्नु र रु हामी त सधै प्राङ्गगारिक मल प्रयोग गर्छौं । तर मिहिनेत धेरै उत्पादन कम हुन्छ । बजारले यो त देख्दैन ।’

रामदेवीका अनुसार मुगुमा अर्गानिक र रैथाने तरकारीको मूल्य नै छैन । यहाँका सर्वसाधारणले स्थानीय तरकारी फलफूल छाडेर आयातित तरकारी र फलफुललाई चर्को मूल्य तिर्ने गरेको उनी बताउँछिन् ।

मुगुलाई कर्णाली प्रदेशको अन्नबालीको भण्डार भनिन्छ । यहाँ उत्पादित रैथाने र अर्गानिक बाली निकै नै स्वस्थकर र स्वादिलो हुने प्रदेशभर विश्वास छ । परापूर्वकालदेखि नै यहाँका किसानले रैथाने अन्नबाली लगाउने र जोगाउँदै आएका छन् । तर, आफैले जोगाएर ल्याएको उत्पादन हेपिएकोमा किसानहरू चिन्ता व्यक्त गर्छन ।

छायानाथ रारा नगरपालिका–३ कि कुसुमदेवी कार्की पनि रामदेवी जस्तै खेतीकिसानी गर्छिन् । उनको पनि रामदेवीको जस्तै प्रश्न छ– मुगुका अर्गानिक उत्पादनले किन मूल्य पाउँदैनन् ?

उनका अनुसार अब स्थानीय सरकारहरूले किसानको उत्पादन बिक्री र व्यवस्थापनमा जोड दिनुपर्छ । छायानाथ रारा नगरपालिकाले तरकारीलाई बजारीकरण र उचित व्यवस्थापनमा सघाउनु पर्छ । पालिकाले नै हाटबजार सञ्चालन गरेर कृषक र ग्राहकहरूलाई सहज बनाउन उनले माग गरिन् ।

मुगुका उत्पादनहरू विषेशगरी खुर्सानी, गोलभेँडा, प्याज, आलुलगायत तरकारी बिक्री नभएर कुहिने गरेका छन् । बिक्री नभएका कारण सदरमुकाम आएका किसानले त्यसै फाल्ने समेत गरेको बताए ।

छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख बिष्णुकुमार भाम मुगुमा हाटबजार सञ्चालनको तयारी भइरहेको बताउँछन् । प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले पनि राजनीतिक दल र सम्बन्धित कार्यालयहरूसँग हाटबजार स्थापनाका लागि पहल, समन्वय, सहकार्य गर्न जोड दिएको बताए ।