पहिरोले घर पुरिँदा एक जनाको मृत्यु, एक जना घाइते

पोखरा।पहिरोले घर पुरिँदा पोखरामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते छन्। महानगरपालिका–६ डिहिकोपाटन पँधेरोमा आज बिहान पहिराले घर पुरिँदा एक जनाको मृत्यु भएको हो ।

केही दिन देखि परेको अविरल वर्षापछि घर माथिबाट आएको पहिराले स्थानीय लक्ष्मी खड्का क्षेत्रीको एक तलाको कच्ची घरको कोठा भत्किँदा कोठा भाडामा बस्ने वर्ष २६ का सन्तोष सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरीले जनाएको छ ।

घटनामा घाइते सुनारलाई उद्धार गरी उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएकामा चिकित्सकले मृत घोषणा गरेका हुन्।घटनामा कास्कीको माछापुच्छे गाउँपालिका–१ भुर्जुङखोला घर भई सोही घरमा बस्ने सन्तोषकी दिदी २७ वर्षीया सुनिता सुनार घाइते छिन्।उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनामा सुनिताको छोरी १० वर्षीया सिम्रन सुनार भने सकुशल रहेको प्रहरीले जनाएको छ।घटनालगत्तै जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलको कालिका गणबाट खटिएको प्रहरी टोलीले घाइतेको उद्धार गरेको थियो।