आज यि तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना

सुर्खेत । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको छ ।हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली रहनेछ । लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले उक्त भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।