महिला जेसीजले वीरेन्द्रगरमा सप्ताहव्यापी कार्यक्रमको आयोजना गर्दै

सुर्खेत । सुर्खेत महिला जेसीजले वीरेन्द्रनगरमा सप्ताहव्यापी कार्यक्रम गर्न लागेको छ । साउन २४ गते मंगलबार विहान मंगलगढी चौकमा उद्घाटन गरिने कार्यक्रममा सोही दिन रक्तदान कार्यक्रमको आयोजना गरिने सुर्खेत महिला जेसीजका कार्यकारी उपाध्यक्ष सीता भण्डारीले जानकारी दिइन् ।

भण्डारीकाअनुसार उद्घाटन कार्यक्रमको जिम्मेवारीमा कमला बस्याल र रक्तदान कार्यक्रममा सोना थापालाई संयोजकको जिम्मेवारी तोकिएको छ । यस्तै, जेसीजले सोही दिन वीरेन्द्रनगर–१० घुस्रामा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालय घुस्रामा शैक्षिक सामग्री सहयोग गर्नेछ ।

विद्यालयमा अध्ययनरत कमजोर आर्थिक अवस्था भएका छात्रछात्राहरुलाई शैक्षिक सामग्री प्रदान गरिनेछ जेसीजका अध्यक्ष मनिषा कौशलले जानकारी दिइन् । उनकाअनुसार शैक्षिक सामग्री वितरण गर्न व्यवस्थापनको जिम्मेवारीमा पशुपति बुढालाई संयोजकको जिम्मेवारी दिइएको छ ।

बुधबार तनाव व्यवस्थापन तालिम प्रदान गर्ने जेसीज कार्यतालिकामा सामावेश छ । तालिममा मध्यपश्चिम विद्यालयका उप–प्रध्यापक ललितजंग शाहीले प्रशिक्षण दिनेछन् । उपत्यकामा रहेका विद्यालयहरुबाट छात्राहरु सहभागी गराएर माविस्तरिय बक्तृत्वकला प्रतियोगताको आयोजना पनि गरिनेछ कौशलको भनाई छ ।

व्यवसायी, उद्यमी, राजनीतिक क्षेत्र, स्वास्थ्य शिक्षा लगायतका विविध विधामा संघर्ष गरेर स्थापित महिलाहरुलाई छनोट गरेर सम्मान गर्ने कार्यक्रम समेत जेसीले तय गरेको छ । उनीहरुको हौसलाका लागि सम्मान गर्न लागिएको भण्डारीको भनाई छ । साउन २८ गते पुरस्कार वितरणसँगै कार्यक्रम सम्पन्न गरिने उनले उल्लेख गरिन् ।