ठेकेदारको बेइमानीले ज्याला पाएनन् कनका सुन्दरीका मजदुरले

जुम्ला । कर्णाली राजमार्गअन्तर्गत नाग्म गमगढी सडक खण्डको सिंजा गाउँपालिका – २ घोडेङ्गा गाउँदेखि कनकासुन्दरी गाउँपालिका – ८ रोकायावाडासम्मको सडक खण्डमा काम गरेका मजदुरले ज्याला पाएका छैनन् ।

सिंजा गाउँपालिका १ की मुलकली कामीले ज्याला मजदुरी गरेको ज्याला नपाएको गुनासो गरिन । उनले भनिन् ‘दैनिक पाँच सय रुपियाँ ज्याला दिने भनेर काममा लगाएका हुन् । अहिले काम गरेको दुई बर्ष भयो त्यही पनि दिएका छैनन् ।’उनले अगाडि थपिन्, ‘घरनजिकै आएको विकास निर्माणमा ज्याला मजदुरी गरौँ र केही आएको पैसाले लुगा फाटो र नुनतेल गरौँला भन्ने सोचेर काम गरेका हौँ । त्यही पनि पाएनौँ । ’

यस्तै, कनकासुन्दरी गाउँपालिका ८ की इमिला शाहीले पनि लुगाफाटो र नुनतेल गरौँला भन्ने आशाले सडकमा ढुंगा फुटाउनेदेखि माटो र बालुवा बोक्ने काम गरेको बताइन् । तर, काम गरेको ज्याला नपाएको उनको भनाई छ । उनले भनिन् ‘नखाई नलगाई २० दिन काम गरियो तर ज्यालाको नाममा सुक्को पाइएको छैन । ’ ठेकेदारको बेमाईनीका कारण ज्याला नपाएको उनले गुनासो गरिन् ।

मुनकली र इमिला जस्तै यो सडकमा काम गर्ने झण्डै तीन सय मजदुर ठगिएका छन् । काम सम्पन्न भएको दुई बर्ष भयो अहिलेसम्म ज्याला नपाएको उनीहरूले गुनासो गरेका छन् ।

यो सडकमा काम गर्दा दैनिक उपभोग्य सामग्रीदेखि निर्माण सामग्री विक्रीवितरण गर्ने झण्डै एक सय बढी व्यापारीहरूले पनि पैसा नपाएको गुनासो गरेका छन् । ठेकेदारले पछि भुक्तानी दिने भनेर लिएका निर्माण सामग्रीको भुक्तानी नपाएका बताएका छन् । निर्माण सामग्रीको लाखौँ रकम भुक्तानी पाएका छैनन् ।

यो ठेक्काका विषयमा सुरुको काम गर्ने चरणमा काँग्रेसका जिल्ला सभापति कर्णबहादुर शाहीसँग सडक निर्माण कार्य सम्पन्नपछि बचेको रकम ६५ प्रतिशत र ३५ प्रतिशत आम्दानी लिने मौखिक सहमति भएको मजदुर किसान पार्टीबाट अघिल्लो स्थानीय तहको निर्वाचनमा निर्वाचित पूर्ववडाध्यक्ष रणबहादुर शाहीले बताए । उनले भने, ‘अहिले पनि त्यो टेलिफोन रेर्कड सुरक्षित नै छ । मौखिक सहमतिपछि भाई दत्त रोकायालाई काम गर्न लगाएको हो । पछि फेरि भाई दत्त रोकायसँग सम्झौता भएको रहेछ । अहिले एक करोड ५१ लाख भुक्तानी लिन बाँकी छ ।’

उक्त सडक निर्माणका पेटी ठेकेदार दत्त रोकायाका अनुसार ठेकेदारले भुक्तानी नदिएका कारण मजदुरको ज्यालादेखि निर्माण सामग्रीको भुक्तानी रोकिएको छ । उनले भने, ‘काँग्रेसको जिल्ला सभापतिसमेत रहेका ठेकेदार कर्णबहादुर शाही र उहाँका भतिजा दिपक शाहीले भुक्तानी नदिएका रहेछन् । यो विषयमा जिल्ला अदालत जुम्लामा मुद्दासमेत दायर भएको छ । एक करोड ५१ लाख भुक्तानी लिन बाँकी रहेको छ । ’अदालतमा मुद्दा दायर भएकाले न्याय प्राप्त हुने उनले बताए ।

मजदुरलाई ज्याला नदिएको ठेकेदार दिपक शाहीले स्वीकारे । यो ठेक्काका विषयमा मुद्दा परेकोले अदालतले ‘स्टे अर्डर’ गर्दा सडक डिभिजन कार्यालयबाट भुक्तानी लिन सकिएको छैन । सडकको निर्माण जिम्मेवारी लिएका ठेकेदार शाहीले भने, ‘यो ठेक्कामा कर्णबहादुर शाहीको कुनै संलग्नता छैन । सडक डिभिजन कार्यालयमा मेरो नाममा सम्झौता भएको छ । ६ करोड ७८ लाख रकमको ठेक्का सम्झौता हो । ३ करोड ७० लाख बजेटमा पेटी ठेकेदार दत्त रोकायासँग सम्झौता भएको हो । सम्झौता रकममध्ये २ करोड ९० लाख ७७ हजार भुक्तानी दिएका छन् । ’
पेटी ठेकेदार रोकायालाई भुक्तानी दिन बाँकी नरहेको उनले बताए ।

उक्त ठेक्कासँग जोडिएका सभापति शाहीले पटक पटक ताकेता गर्दा पनि काम नगर्दा तीन पटक ठेक्का रद्द गरिएको बताए । ‘रद्द गरिएको ठेक्काको पत्र बुझ्न नमानेपछि हुलाकबाट समेत पठाएका छौँ । हाम्रो कसैसँग रकम लिनु पनि छैन दिनु पनि छैन । हेपाया प्रबृत्तिले घटना बनाउन खोजिएको हो’, शाहीले भने ‘यो ठेक्का विषयमा अहिले मुद्दा लडिरहेका छौँ । अदालतले न्याय दिने अपेक्षा गरिएको छ ।

सडक डिभिजन कार्यालय जुम्लाका निमित्त प्रमुख विरेन्द्र रावलका अनुसार १३ नम्बरको उक्त ठेक्का खड्का कृष्ण कन्ट्क्सन बाँकेका प्रतिनिधि पिदक शाहीसँग ०७७ सालमा सम्झौता भएको हो । उनका अनुसार सडक स्तरोन्नतिको म्याद थपसहित ०७८ कार्तिक २३ गते सम्पन्न मिति हो । त्यो सडक निर्माण कार्य सम्पन्न भई ५ करोड ७९ लाख भुक्तानी भईसकेको छ । अदालतमा मुद्दा चलिरहेकोले ८६ लाख रकम भुक्तानी बाँकी छ । ६ करोड ७८ लाख ठेक्का सम्झौता हो ।