अवैध लागूऔषधसहित सात जना पक्राउ

 बर्दिया । झापा, बर्दिया, कास्की र कैलालीमा अवैध लागूऔषधसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको विर्तामोड नगरपालिका–४ बस्ने ४० वर्षीय उमेश चौधरी र सोही नगरपालिका–३ डेरा गरी बस्ने २७ वर्षीया प्रतिक्षा चौधरीलाई ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई शनिबार प्रहरीले पक्राउ गरेको हो । उमेशको साथबाट ४ ग्राम २ सय मिलिग्राम र प्रतिक्षाको साथबाट ५ ग्राम उक्त पदार्थ प्रहरीले बरामद गरेको छ ।

बर्दियाको मधुवन नगरपालिका–७ तारातालबाट २५० मिलिग्राम ब्राउन सुगरसहित सोही ठाउँ बस्ने १९ वर्षीय पवन महत लगायत ३ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी तारातालबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

कास्कीको पोखरा महानगरपालिका–३० पावरहाउस चोकबाट नियन्त्रित लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी ९पश्चिम० पाल्हीनन्दन गाउँपालिका सनही घर भएका २० वर्षीय दिपेश लोहार छन् । उनलाई शनिबार प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट २ सय एम्पुल नुर्फिन, २ सय एम्पुल डाईजेपाम र २ सय एम्पुल फेनारगन बरामद गरिएको प्रहरीले जनाएको छ ।

कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानीबाट करिब ४ सय मिलिग्राम खैरो हेरोईनसहित सोही ठाउँ बस्ने सेती महाकाली होटलकी सञ्चालक ५० वर्षीया बिमला केसीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी जाँच गर्ने क्रममा बिमलालाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।