जुम्लाको गुमनाम गिडितालमा पहिलो पटक सरकारी टोली पुगे

जुम्ला जुम्लाको गुमनाम गिडितालमा पहिलो पटक सरकारी टोली पुगेको छ । तातोपानी गाउँपालिकामा रहेको गिडिदह (ताल) मा पहिलो पटक सरकारी टोली पुगेको हो ।जुम्लाको ठूलो तर पूर्वाधार अभावले पहिचान हुन नसकेको गिडिदह तालको वास्तविक अवस्था र पर्यटकीय प्रवद्र्वन गर्न तातोपानी गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, ईन्जिनियरहरु, स्थानीय तथा पत्रकारहरुसहित त्यहाँ  पुगेका  थिए ।

तातोपानी गाउँपालिकाबाट हिडेर आउन जान चार दिन लाग्ने जोखिम रहेको उक्त क्षेत्रमा गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाई, उपाध्यक्ष रेवति रावल, जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापा, ईन्जिरनियर तथा कर्मचारी टोली, स्थानीय र सरोकारवाला निकाय र नेपाल पत्रकार महासंघ जुम्लाको नेतृत्व पत्रकारहरुसहित ७५ जनाको समूह गिडिदह सम्मेलनमा सहभागी भएका थिए ।

समुन्द्र सतहदेखी ३४८२ मिटर उचाईमा रहेको तातोपानी गाउँपालिका वडा नम्बर ४ को आयोजनामा गिडिताल (दह) मा सम्मेलन सम्पन्न भयो । स्थलगतरुपमा सरकारी तहबाट कोही पनि निकाय उक्त तालमा पुग्न सकेको थिएन ।

उक्त तालको हालसम्म लम्वाई, चौडाई र गहिराई समेत नाप्न सकिएको छैन् । वनजंग, झारी, खोलानाला, पाटनको लामो यात्रा रहेको सो दह क्षेत्रमा बाटो पनि नभएकाले हाल सम्म कोही पनि निकाय त्यहाँ पुग्न नसकेको र पर्यटकीय पूर्वाधार तयार हुन नसकेका कारण पहिलो पटक सम्मेलनको आयोजना गरिएको थियो ।