म असोज २० गते नेपाल आउँदैछु–सन्दीप लामिछाने

काठमाडौं। आफू असोज २० गते नेपाल फर्किने नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेले बताएका छन् । आज बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत नेपाल फर्किन लागेको जानकारी दिएका हुन । लामिछानेले आफूविरुद्ध लगाइएको गलत आरोपको कानुनी सामना गर्न अक्टोबर ६ मा नेपाल फर्किने जानकारी दिएका छन् । उनले आफू निर्दोष सावित हुने स्ट्याटसमा दाबी समेत गरेका छन् ।

१७ वर्षीया एक किशोरीले लामिछानेविरुद्ध भदौ २१ मा जबर्जस्ती करणीको कसुरमा प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । त्यसको दुई दिनपछि भदौ २३ मा नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई कप्तानबाट निलम्बन गरेको थियो । काठमाडौं जिल्ला अदालतले त्यही दिन लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गर्न प्रहरीलाई अनुमति दिएको थियो ।क्रिकेट प्रतियोगिताका क्रममा विदेशमै रहेका बेला बलात्कार आरोप लागेपछि उनी सम्पर्कबाहिर रहेका थिए ।