आजदेखि केहि दिन ठूलो पानी पर्दै, सडक तथा हवाई यातायात समेत प्रभावित हुने

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। । प्रदेश १, मधेश प्रदेश तथा बागमती प्रदेशमा सामान्य बदलीरही बाँकी प्रदेशका पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १ का थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । अहिले बङ्गालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्र उत्तर पश्चिमतर्फ सर्दै जाने क्रममा आजदेखि नेपालमा पनि यस प्रणालीको प्रभाव परेको छ ।

पूर्वको तुलनामा पश्चिममा निकै भारी वर्षा हुनेछ । देशका धेरैजसो नदीमा आजदेखि पानीको बहाव बढ्ने अनुमान गरिएको छ । तिनाउ नदी, बाणगंगा र यसका सहायक नदीहरूमा बहाव बढ्ने र केहीमा सतर्कता तह पार गर्न सक्ने अनुमान रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाको आग्रह छ ।

१९ गतेदेखि २२ गते शनिवारसम्म पश्चिम सेती, महाकाली र यसका सहायक नदीमा बहाव उल्लेख्य बढ्ने तथा सतर्कता तह आसपास पुग्न सक्ने भएकाले विशेष सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।