सबै नागरिकलाई जोगाउन कर्णाली सरकार तयार छ: मन्त्री विसी

सुर्खेत । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले मानव सेवा आश्रम सुर्खेतमा आश्रित ८५ जना नागरिकलाई आज एक कार्यक्रमका बीच आर्थिक तथा खाद्यान्न सहयोग गरेको छ । सामाजिक विकास मन्त्री यज्ञबहादुर विसीले सडकमा अलपत्र परेका नागरिकलाई बचाउन र उनिहरुको सुरक्षा गर्नका लागि मानव सेवा आश्रमले महत्वपूर्ण योगदान दिएको समेत बताए ।

‘सडक मानवरहित कर्णाली बनाउने हाम्रो अभियान र सपनालाई साकार पार्न आश्रमले महत्वपूर्ण योगदान दिएको छ । यो संस्थाको योगदानको उच्च कदर गर्दै प्रदेश सरकारले बारम्बार सहयोग गर्दै पनि आइरहेको छ ।’ उनले भने, ‘हाम्रा सडकापेक्षी नागरिक कोही पनि गास, वास र कपासबाट बञ्चित हुन नपरोस र राज्यको सहाराबाट विहीन हुन नपरोस भन्नेमा हामी सजग, सर्तक रहेका छौं ।’

मन्त्री विसीले त्यसकालागि सकेसम्म अधिकतम सहयोग गर्ने आश्वासन समेत दिए । मन्त्रालयका सचिवसन्तबहादुर सुनारले राज्यका सबै नागरिकको रक्षा गर्न मन्त्रालये सकेसम्मको प्रयास गरिरहेको दाबी गरे ।

‘हामीले यहाँ रहेका ८५ जना नागरिकका लागि आज ६७ हजार नगद दिएका छौं । त्यसका अलावा उहाँहरुलाई एक छाक खाना तथा केहि दाल र चामल समेत हस्तान्तरण गरेका छौं ।’ उनले भने, ‘आगामी दिनमा पनि मन्त्रालयले यस्ता काम गरिरहनेछ ।’

मनोचिकित्सक रोशनी खत्रीले मानसिक र शारीरिक समस्यामा ठूो अन्तर रहेको बताउँदै मानसिक समस्या जटिल भएको बताईन । ‘मानसिक रोगको समयमै उपचार गर्न आवश्यक छ । समयमै उपचार गर्न नसकिए यसले ठूलो समस्या सिर्जना गर्न सक्छ ।’ उनले भनिन्, ‘ती समस्या समाधानका लागि म तयार छु । सकेसम्म आश्रमले बोलाएको खण्डमा सहयोग गर्न तत्पर छु ।’

आश्रमकी सञ्जिता गौतमले हाल आश्रममा ३४ महिला, ४१ पुरुष र चार बालिका आश्रित भइरहेको बताईन् ।
‘आश्रम स्थापना भएपछि १५ जना बा आमालाई पारिवारीक पुर्नमिलन गराइसकेका छौं ।’ उनले भनिन्, ‘हालसम्म यो आश्रममा आश्रित २७ जनाको प्रदेश अस्पतालमा निधन भइसकेको छ । उहाँहरुको अन्त्येष्टि वीरेन्द्रनगर नगरपालिकाले गरिसकेको छ ।’

उनका अनुसार, आश्रममा मासिक रुपमा पचास हजार बढिको औषधी खर्च हुने गरेको छ भने नागरिकले जन्मदिन लगायतका विभिन्न अवसर पारेर आर्थिक तथा अन्य सहयोग नागरिकबाट पाइरहेको छ ।

आश्रमको भाडा नगरपालिकाले तिर्दै आइरहेको बताउँदै मनोचिकित्सक डा. शुसिल समदर्शी निरन्तर आश्रममा आई स्वास्थ्य जाँच गर्दै आइरहेको बताईन । आश्रममा आश्रित विमला थापाले आप्नो श्रीमान काठमाडौंमा भएको बताउँदै आफू विगत केहिमहिन देखि आश्रममा नै बस्दै आइरहेको बताईन ।

‘म केहि दिनदेखि यहाँ बस्दै आइरहेकी छु । मेरो श्रीमान काठमाडौंमा छन भने मेरा तीन छोराछोरी नेपालगन्जमा बस्दै आइरहेका छन् ।’ उनी भन्छिन्, ‘सल्यान बजारमा म चार दिन सडकमा बसेको देखेर मलाई यहाँ ल्याइएको हो । हाल मेरो अवस्था सुधार भएको छ ।’ उनले श्रीमान तथा छोराछोरीले हालसम्म खोजी खबरी नगरेको दुखेसो समेत गरिन ।

कार्यक्रममा मन्त्रालयका स्वास्थ्य तथा मानसिक स्वास्थ्य शाखा प्रमुख खगेन्द्र गैरे, नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेल, सचिव ललित बुढा लगायतको सहभागिता रहेको थियो ।