सुशासनको धज्जी उडाउँदै कर्णालीका मन्त्री

सुर्खेत । कर्णाली प्रदेशका मन्त्रीहरुले सुशासनको धज्जी उडाएको पाइएको छ । मन्त्री नियुक्त भएको झन्डै २ महिना पुग्नै लाग्दा पनि कर्णालीका मन्त्रीहरुले आफुसँग कति सम्पत्ति छ भन्ने विवरण खोलेका छ्रैनन् । मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयको वेबसाइटमा हालसम्म पनि मन्त्री मात्रै होइन मुख्यमन्त्रीको समेत सम्पत्ति विवरण राखिएको छैन । यद्यपी मुख्यमन्त्रीले आफ्नो सम्पत्ति विवरण मुख्यमन्त्री कार्यालयमा दर्दा गराइसकेको जनाइएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० मा ‘सार्वजनिक पद धारण गरेको व्यक्तिले त्यस्तो पदमा बसेको ६० दिनभित्र र त्यसपछि हरेक आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण मुख्यमन्त्री कार्यालयमा बुझाउनुपर्ने उल्लेख छ । सम्पत्ति विवरण गोप्य राख्नेमा ६ मन्त्री र एक राज्यमन्त्री रहेका छन् ।

तर गत पुस २८ गते मुख्यमन्त्रीले शपथ लिएको ठिक ५० दिन पुग्दा पनि मन्त्रीहरुको सम्पत्ति विवरण छानविन भएको छ्रैन् । आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जितबहादुर मल्ल, सामाजिक विकास मन्त्री टेकराज पछाई, भूमि व्यवस्था, कृषि तथा शहकारी मन्त्री भीमप्रकास शर्मा र भाौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत राज्यमन्त्री उर्मिला विश्वकर्माले समेत सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् ।

यस्तै, मुख्यमन्त्रीसँगै पद तथा गोपनीयताको शपथ लिएका आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह र भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोतमन्त्री मंगलबहादुर शाहीलेसमेत सम्पत्ति विवरण सार्जजनिक गरेका छैनन् ।

कानुनी रूपमा सम्पत्ति विवरणमा व्यक्तिगत गोपनीयतासम्बन्धी कानुन लागू हुने हुन्छ । तर, मन्त्रिपरिषद्ले कार्यव्यवस्था नियमावलीमा व्यवस्था गरेरै प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने व्यवस्था गरेको छ ।

मुख्यमन्त्री कार्यालयका सचिव प्रेम आचार्य मुख्यमन्त्री बाहेक अन्य मन्त्री तथा राज्यमन्त्रीले हालसम्म सम्पत्ति विवण नबुझाएको बताछन् । उनले भने, ‘मुख्यमन्त्रीज्यूले कार्यालयमा विवरण बुझाउनुभएको छ । तर, अन्य मन्त्रीज्यूहरूले अहिलेसम्म विवरण पठाउनुभएको छैन । विवरण बुझाउने समय पनि बाँकी भएका कारण हामीले ताकेता गरिरहेका छौँ । शायद अबको केही दिनमा बुझाउनुहुन्छ होला ।’