कालीकोटकाे मुम्रामा पाठेघर सम्बन्धी निशुल्क स्वास्थ्य शिविर

कालीकोट । पाठेघरको जाँच सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ । सान्नीत्रिवेणी गाउँपालिकाको सहकार्यमा नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित समुदाय स्वास्थ्यका लागि एकिकृत पहल (इच) परियोजनाले सोमबार मुम्रा स्वास्थ्य चौकीमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो । परियोजना अधिकृत भरत हमालले शिविरमा महिलाको पाठेघर सम्बन्धी समस्याको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिएको जानकारी दिए ।

उनका अनुसार शिविरबाट गाउँपालिका वडा नं ८ र ९ का ६१ जना महिलाले सेवा लिएका छन् । शिविरमा जिल्ला अस्पताल कालीकोटकी अस्पताल नर्सिङ निरीक्षक मिरा शाहीसहितको स्वास्थ्यकर्मीको टोलिले जाँच गरेको थियो । स्वास्थ्य शिविरमा महिलाहरुमा पाठेघर खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने समस्या देखिएको, सेतो पानी बग्नेलगायतको समस्या भेटिएको उनले जानकारी दिइन् । कम उमेरमा बिहे गर्ने र बच्चा जन्माउने, सुत्केरी अवस्थामा आरामको कमी, बढी तौलको भारी बोक्ने र महिलाहरुमा प्रजनन् स्वास्थ्य प्रति चेतनाको कमीका कारण पाठेघरमा संक्रमण भएर क्यान्सर हुने जोखिम गरेको उनले बताइन् ।

स्वास्थ्य शिविरमा आङ खस्ने समस्या भएका चार जना महिलाको रिङ पेसरी राखिएको र चार जनालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिएको परियोजना अधिकृत हमालले जानकारी दिए । उनका अनुसार तल्लो पेट दुख्ने, ढाड दुख्ने समस्या भएका महिलाहरुका लागि औषधि वितरण गरिएको छ । चार वर्षीय समुदाय स्वास्थ्यका लागि एकिकृत पहल ९इच० परियोजना सन् २०२२ देखि सान्नित्रिवेणी गाउँपालिकामा लागू छ ।