सुर्खेतका ६० जना पत्रकारहरुको निःशुल्क आँखा जाँच

सुर्खेत । नेपाल नेत्रज्योति संघको ४५ औँ र पत्रकार महासंघको ६८ औँ स्थापना दिवसको अवसरमा सुर्खेतका क्रियाशिल पत्रकारहरुको निःशुल्क आँखा जाँच गरिएको छ ।

साेमबार नेपाल नेत्रज्योति संघको सहकार्य, एकीकृत आँखा तथा कान कार्यक्रमको व्यवस्थापनमा र नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको आयोजनामा सुर्खेतका क्रियाशिल पत्रकारहरुको निशुल्क आँखा जाँच गरिएको हो ।

शिविर कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य दिपेन्द्र शर्माले पत्रकारहरुको दृष्टि स्वास्थ्यमा देखिने समस्यालाई समाधान गर्नका लागि कार्यक्रमको आयोजना भएको बताए । शर्माले पत्रकारहरु बढी सधै फ्रन्टलाईनमा रहेर काम गर्ने साथै पेशागत व्यस्ताले आफ्नो स्वास्थ्यको ख्याल कम गर्ने पाईएकोले निःशुल्क शिविर संचालन गरिएको बताए ।

यस्तै, एकीकृत आँखा तथा कान कार्यक्रमका कर्णाली प्रदेश संयोजक मानबहादुर कुँवरले अन्धोपनलाई हटाउँन कर्णालीमा आँखा उपचारका लागि छुट्टै रणनीति बनाएर काम गरिरहेको बताए । उनले अधिकांशको आँखामा सुख्खापनको समस्या देखिएको बताए । ‘ पत्रकारहरु चौबिसै घण्टा कम्प्युटर र मोवाइलमा समाचार लेख्न व्यस्त रहन्छन् । जसका कारण आँखामा विभिन्न समस्या निम्तिरहेको छ,’ संयोजक कुँवरले भने, ‘ आँखाको स्थितिबारे बुझ्ने र आवश्यक सुरक्षाको प्रवन्धका लागि आँखा जाँच तथा चश्मा वितरण कार्यक्रम आयोजना गरेका हौँ ।’

यस्तै, पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष ललित बसेलले आँखा स्वास्थ्यका लागि निकै महत्वपुर्ण कार्यक्रम रहेकाले सेवा लिन आग्रह गरे । उनले पत्रकारहरु रिर्पोटिङमा हिडिराख्नुपर्ने भएकाले स्वास्थ्यमा ख्याल गर्नुपर्छ भन्ने सन्देश दिन आँखा जाँच शिविर आयोजना गरिएको बताए । शविरमा सुर्खेतका करिव ६० जना पत्रकारहरुको निःशुल्क आँखा जाँच तथा औषधी र चश्मा वितरण गरिएको छ ।