कर्णालीमा मन्त्रिमण्डल पुनर्गठनबारे कांग्रेससँग छलफल भयोः जनार्दन शर्मा

सुर्खेत । पार्टी कामले कर्णाली आएका नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वअर्थमन्त्री जनार्दन शर्माले नेपाली कांग्रेस कर्णाली संसदीय दलका नेता जीवनबहादुर शाहीसँग मन्त्रिमण्डल पुनर्गठनबारे छलफल गरेका छन् ।


कर्णालीमा अहिले एमाले(माओवादी गठबन्धनको सरकार छ । यहाँ आलोपालोमा सरकार चलाउने सहमतिका साथ एमालेले माओवादीका राजकुमार शर्मालाई मुख्यमन्त्रीमा समर्थन गरेको थियो । केही दिनअघि विश्वासको मत लिँदा पनि एमालेले शर्माको पक्षमा भोट हालेको छ ।

सुर्खेत विमानस्थलमा पत्रकारसँग बोल्दै शर्माले छिट्टै सरकारलाई नयाँ स्वरूप दिने सहमति भएको बताएका छन् ।

‘संघको गठबन्धन फेरबदलसँगै कर्णालीमा नयाँ दिशा दिनुपर्ने आवश्यकता छ । जीवनबहादुर शाहीसँग पनि मिटिङ गरेँ । प्रारम्भिक छलफलमा छिट्टै नयाँ स्वरूप दिने गरी सहमति भएको छ । यो अलमल छिट्टै अन्त्य गरेर सरकारलाई अगाडि बढाउँछौं’, शर्माले भने ।

चुनावताका प्रचण्डले मुख्यमन्त्रीका लागि कांग्रेसलाई वचन दिएको सन्दर्भमा पत्रकारको प्रश्नमा शर्माले कर्णालीमा माओवादी नेतृत्वकै सरकार हुने बताए ।

उनले भने, ‘कर्णालीको सन्दर्भमा सरकार हाम्रै हुने हो । गठबन्धनका अन्य दलहरू सरकारमा सहभागी हुन्छन् । यहाँको निर्णयले हुँदैन । केन्द्रकै गठबन्धनको निर्णय र निर्देशन हुनुपर्ने भएकाले ढिलाई भएको हो ।’

शर्माले संघीय सरकार गति लिने ठाउँमा पुगेकाले अबको ध्यान प्रदेशतिर हुने बताए । एमाले ठूलो दल भएको ठाउँमा सरकार फेर्न समस्या भइरहेको उनको भनाई थियो ।

‘मधेस, वागमती एक ढंगले अघि बढिसक्यो । नयाँ नाम राखेको विवादित प्रदेश कोशीको शक्ति सन्तुलनको अवस्था जटिल छ । यसलाई कसरी समाधान गर्ने चुनौती छँदैछ । गण्डकी, लुम्बिनीमा गठबन्धनको नयाँ स्वरूप दिनुपर्ने आवश्यकता छ । त्यहाँ एमाले नै ठूलो भएकाले समस्या छ । अन्य प्रदेशमा छलफल भइरहेको छ’, नेता शर्माले बताए ।

केही दलले मन्त्रीको नाम नदिएकाले केन्द्र सरकारले पूर्णता नपाएको भन्दै उनले नाम आएपछि केही दिनमै पूर्ण हुने बताए । पार्टी संगठनको काममा लाग्ने र मन्त्री नबन्ने चुनावताका वाचा गरेकाले आफू मन्त्री बन्ने ध्याउन्नमा नरहेको शर्माको दाबी थियो ।