हुम्ला र कालिकोटका २३५ जनाको निःशुल्क शल्यक्रिया

हुम्ला । नेपाल नेत्रज्योति संघको आयोजनामा हुम्ला र कालिकोट जिल्लामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । उक्त आँखा शिविर मार्फत १ हजार ६ सय ८८ जनाको आँखा परिक्षण गरिएको छ भने २३५ जनाको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ ।

नेपाल नेत्र ज्योति संघ, हिमालय आँखा अस्पताल पोखराको आयोजना एवं प्राविधिक सहयोग, नेपाल नेत्र ज्योति संघ एकीकृत आँखा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेशको आर्थिक सहयोग र आई केयर फाउण्डेशनको विशेष सहयोगमा शिविर सञ्चालन गरिएको हो ।

चैत्र २५ गतेदेखि २७ गतेसम्म जिल्ला आँखा उपचार केन्द्र, कालिकोटको स्थानीय आयोजनामा चलेको आँखा शिविरमा १ हजार ७८ जनाको आँखा जाँच गरिएकोमा २०० जनालाई चस्मा वितरण गरिएको थियो ।

साथै १९२ जनाको निःशुल्क मोतिबिन्दुको शल्यक्रिया समेत गरिएको थियो । त्यस्तै बैशाख १ गतेदेखि ३ गतेसम्म चंखेली गाउँपालिका पिप्लाङ, हुम्लाको स्थानीय आयोजनामा चलेको आँखा शिविरमा ६१० जनाको आँखा जाँच गरी २१० जनालाई चस्मा वितरण गरिएको थियो भने ४३ जनाको निःशुल्क मोतिबिन्दुको शल्यक्रिया गरिएको हो ।

आँखा उपचारको पहुँच र आर्थिक अभावमा लामो समयदेखि दृष्टिविहिन बस्न बाध्य भएका बिरामीहरुले आफ्नो घर आँगनमै आँखा उपचार सेवा पाएपछि खुसी हुँदै स्वास्थ्यकर्मीहरुलाई धन्यवाद समेत दिएका थिए । नेपाल नेत्रज्योति संघले कोही पनि नागरिक पहुँच र आर्थिक अभावमा दृष्टिविहिन भएर बस्न नपरोस् भन्ने हेतुले विभिन्न संघ संस्थाहरुसंगको सहकार्यमा देशैभरी निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविरहरु संचालन गर्दै आइरहेको छ ।

नेपाल नेत्रज्योति संघ हिमालय आँखा अस्पताल पोखराका नेत्रअधिकृत गोबिन्दनाथ योगिको नेतृत्वमा गएको स्वास्थ्यकर्मीहरुको टोलिले आँखा शिविर सञ्चालन गरेको हो । उक्त टोलिले मुगु, हुम्ला र कालिकोट जिल्लामा ४ वटा निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर सम्पन्न गरेको छ ।

नेपाल नेत्रज्योति संघद्धारा सञ्चालित विभिन्न अस्पतालहरुले विभिन्न संघ संस्थाहरुसंगको सहकार्यमा देशैभरी बार्षिक हजारौँ निशुल्क आँखा उपचार तथा शल्यक्रिया शिविर सञ्चालन गर्दै आइरहेका छन् । नेपाल नेत्रज्याति संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल तथा १५० भन्दा बढि आँखा उपचार केन्द्र संचालन गरिरहेको छ ।

संघले देशभरका आँखा अस्पताल, आँखा उपचारका केन्द्र र विभिन्न आँखा शिविरहरु मार्फत हरेक जिल्लाका नागरिकहरुलाई आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ ।