वीरेन्द्रनगरमा बालकको मृत्युलाई लिएर आन्दोलन

सुर्खेत । वीरेन्द्रनगरको यरिचोक–मुलपानी नजिकै मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएपछि आफन्त र स्थानीय बासिन्दाले वीरेन्द्रनगरको मूलपानी चोक देखि मंगलगढी चोकसम्म प्रर्दशन गरिरहेका छन् । दैलेखको आठविस नगरपालिकाका पाँच वर्षीय टुकदर्शन गिरीको मृत्यु भएपछि आफन्त र स्थानीय बासिन्दाले प्रर्दशन गरिरहेका हुन् ।

शनिबार विहान दुर्घटनामा गम्भीर घाइते गिरीको उपचारको क्रममा कर्णाली केयर अस्पतालमा मृत्यु भएको थियो । बालकको मृत्यु भएपछि उनका आफन्तहरुले जुम्ला रोडमा मान्छे मार्न पाइदैन भन्दै आन्दोलन गरिरहेका छन् । आन्दोलनकारीहरुले चोकहरुमा टायर बालेर प्रर्दशन गरिरहेका छन् । आन्दोलनलाई नियन्त्रणमा लिनका लागि प्रहरीले अश्रुग्यास प्रहार गरिरहेको छ ।

आन्दोलनलाई नियन्त्रणमा लिन खोज्दा आन्दोलनकारी र प्रहरीबीच मंगलगडि चोकमा झडप समेत भएको छ । मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने आफन्तहरुको माग छ ।

मोटरसाइकल चालक फरार रहेका छन् । मोटरसाइकल नम्बर नखुलेकाले उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।