कर्णालीका मुख्यमन्त्री शर्माले तेस्राे पटक विश्वासको मत लिँदै

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्राे पटक विश्वासको मत लिने भएका छन् । आइतबार मुख्यमन्त्री शर्माले विश्वासको मत लिनका लागि प्रदेश सभा सचिवालयलाई पत्र समेत बुझाएका छन् ।

मुख्यमन्त्री शर्मनले २० गते मंगलबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिने गरी पत्र दर्ता गराएकाे प्रदेशसभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।

उनले भने,‘विश्वासको मत लिन भनेर मुख्यमन्त्रीज्यूले आज पत्र दर्ता गराउनुभएको छ । चैत २० गते दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकबाट विश्वासको मत लिने गरि तयारी भएकाे छ।`

सरकारमा सहभागी नेपाली काँग्रेसले फागुन २२ गते समर्थन फिर्ता लिएको थियो । काँग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले शर्माले तेस्राे पटक विश्वासको मत लिन लागेका हुन् ।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । ४० सदस्यीय कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, राप्रपा, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसद एक/एक जना रहेका छन् ।