दैलेखमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ६ जना घाइते

सुर्खेत । दैलेखमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु र ६ जना घाइते भएका छन् ।

आइतबार दिउँसो दुल्लु नगरपालिका–६ धाडामा भे.१ त. ८९६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु ६ जना घाइते भएका हुन् ।

मृत्यु हुनेमा दुल्लु नगरपालिका–६, खच्चै गैराका ५५ वर्षीय मानबहादुर रावल रहेकाे जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

दुर्घटनामा चालक, सहचालक गरी ६ जना घाइते भएका छन् । घाइतेमध्ये दुल्लु नगरपालिका–६, का ५६ वर्षीय कमारो रावलको अवस्था गम्भीर छ भने उनको बायाँ खुट्टामा चोट लागेको छ ।

यस्तै, ४८ वर्षीय दानबहादुर रावलको दाहिने खुट्टामा चोट लागेको छ भने ट्याक्टरका साहु ३१ वर्षीय ललित खड्काको मुख, हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।

तिन जनाको दुल्लु अस्पतालमा उपचार भइरहेको छ भने ३ जनालाई प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिएको छ ।