अछाममा एमाले अध्यक्ष पदमा रावल बलिया प्रतिस्पर्धी

अछाम । नेकपा एमाले अछामको अध्यक्ष पदका लागि जारी नवौं जिल्ला अधिवेशनमा कमल रावल बलिया प्रतिस्पर्धीका रूपमा देखा परेका छन्।

पार्टीको संगठन सुदृढीकरणमा सक्रिय रावल युवा पुस्ताको मुद्दा र आकांक्षालाई सम्बोधन गर्दै पछिल्लो समय अछाममा आफ्नो प्रभाव विस्तार गर्न सफल भएका छन्।

विद्यार्थी राजनीतिबाट उदाएका रावल दुई कार्यकालसम्म एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य रहेका छन्।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको समर्थन प्राप्त भएपछि उनले अध्यक्ष पदका लागि थप आत्मविश्वासका साथ प्रतिस्पर्धा गरिरहेका छन्।

आगामी २०८४ सालमा हुने आमनिर्वाचनलाई लक्षित गर्दै रावलले अछाममा पार्टीलाई पहिलो शक्ति बनाउन अध्यक्ष पदमा उम्मेदवारी दिएको बताएका छन्।

पार्टीको अहिलेको लक्ष्य मिसन ८४ हो रावलले भने,` जिल्लामा एमालेलाई पहिलो बनाउने र पार्टीमाथि भइरहेको आक्रमणलाई काम गरेर निस्तेज पार्न मेरो उम्मेदवारी हो।`

युवा प्रतिनिधित्वलाई सशक्त बनाउने र संगठनलाई मजबुत बनाउन नेतृत्वको आवश्यकता महसुस गर्दै आफूले अनुभव, संघर्ष र विश्वासका आधारमा उम्मेदवारी दिएको रावलले बताएका छन्।

रावलको उम्मेदवारीले जिल्ला अधिवेशनमा नयाँ ऊर्जा थपेको छ।

संगठनात्मक अनुभव, सफल नेतृत्व क्षमता र युवामैत्री सोचका कारण प्रतिनिधिहरूले उनको उम्मेदवारीलाई सकारात्मक रूपमा लिएका छन्।

भावी नेतृत्व सशक्त र परिणाममुखी बनाउने सम्भावनाका साथ रावलको नाम अधिवेशनमा प्राथमिकतामा राखेर चर्चा भइरहेको छ।